खाडी मुलुक र मलेसियामा नेपाली कामदार-वर्षमा ९५७ को मृत्यु

दोहा (कतार), माघ ९  कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको अवधिमा वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ ।

खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा हृदयाघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो । मृत्यु हुनेमा ३२ जना महिला छन् । दूतावासहरूका अनुसार यस अवधिमा सबैभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ । साउदी अरबमा २ सय ८३, कतारमा १ सय ६९, संयुक्त अरब इमिरेट्स (यूएई) मा ८४, कुवेतमा ३१, दक्षिण कोरियामा २१, ओमनमा ७, बहराइनमा ६ तथा साइप्रस र सिरियामा एक/एक नेपाली कामदारको मृत्यु भएको छ । यो खबर होम कार्कीले आजको कान्तिपुरमा लेखेका छन्।

आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीवनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयाघातका कारण ज्यान जानेको संख्या बढी छ ।

हृदयाघात र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण मृत्यु हुनेको संख्या २ सय ७६ छ । सडक दुर्घटनामा परेर १ सय ७१ नेपालीले ज्यान गुमाएका छन् । एक वर्षको अवधिमा १ सय ६२ जना नेपाली कामदारले खाडी तथा मलेसियामा आत्महत्या गरेको दूतावासहरूमा रेकर्ड छ । सबभन्दा बढी मलेसियामा ६४ जनाले आत्महत्या गरेका छन् । पारिवारिक मनमुटाव, चर्को ऋण, श्रम सम्झौताअनुसार काम नहुनु, तलब र सेवासुविधा नपाउनुलाई आत्महत्याको मुख्य कारक मानिएको छ ।

काम गर्न गएको देशको ट्राफिक नियमबारे राम्ररी जानकारी नहुँदा सडक दुर्घटनामा धेरै नेपालीले ज्यान गुमाइरहेका छन् । जथाभावी बाटो काट्ने, तीव्र गतिमा गाडी कुदाउनेजस्ता कारण धेरैको ज्यान गएको दूतावासहरूले जनाएका छन् ।

वैदेशिक रोजगारीमा जानुअघि त्यस देशका कानुन र नियमबारे जानकारी नहुँदा पनि दुर्घटनाहरू भइरहेका छन् । ‘कतारमा पनि सडक दुर्घटनामा मृत्यु हुनेको संख्या उच्च छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘नेपालमा सही अभिमुखीकरण नभएपछि कतार आउने कामदारलाई यहीं नै जनचेतना दिनु जरुरी छ ।’

कार्यस्थलमा सुरक्षा मापदण्ड कडाइसाथ लागू नहुँदा ५७ नेपालीको ज्यान गएको छ । गन्तव्य देशका श्रम कानुनअनुसार कार्यस्थलमा मृत्यु भएका कामदारको जिम्मा लिई क्षतिपूर्ति दिइरहेको छ । सबैभन्दा बढी महिला कामदारको मृत्यु कुवेतमा भएको छ । कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालका अनुसार यो अवधिमा १६ जना महिलाको मृत्यु भएको छ । यीमध्ये १४ जना घरेलु कामदार (हाउसमेड) हुन् ।

खाना र बासस्थानको स्तरमा कडाइ नगरिने भएकाले कामदारहरूको जीवन जोखिममा रहेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ । साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्मा खानपान, गर्मी र चिसोमा रहनुपर्ने अवस्थाले मृत्युदर बढिरहेको बताउँछन् । ‘दिनभर चर्को गर्मी र राति एकदमै चिसोमा बस्ने जीवनशैली छ,’ उनले भने, ‘यसले सुतेको सुत्यै हुने घटना भइरहेको देखिन्छ ।’ साउदी अरबको जेद्दास्थित कार्यवाहक महावाणिज्यदूत रेवती पौडेल कम्पनीहरूले कामदारको स्वास्थ्य जाँचमा मात्रै ध्यान दिए पनि मृत्युदर घटाउन सकिने बताउँछन् । ‘एउटै क्याम्पमा चार जना नेपालीको मृत्यु भएपछि हामीले क्याम्पमै स्वास्थ्य शिविर राख्दा अधिकांश कामदारको रक्तचाप र सुगर उच्च देखियो ।

दुई जनालाई तुरुन्तै नेपाल पठाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘जहाँ–जहाँ नेपाली कामदारको संख्या धेरै छ, त्यहाँ शिविर राखेर जाँच गरेपछि मृत्युदर घटेको अनुभव छ ।’ सरकारी अस्पतालमा सजिलै स्वास्थ्य जाँच गर्न नपाइने र निजी अस्पताल ज्यादै महँगो पर्ने हुनाले पनि कामदारहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने खाडीमा कार्यरत नेपाली डाक्टरहरूको अनुभव छ । श्रम कानुनअनुसार कम्पनीले बिमामार्फत स्वास्थ्य सेवा दिनुपर्ने र ठूला क्याम्पहरूमा डाक्टर र नर्सको सुविधा राख्नुपर्ने बाध्यकारी नियम भए पनि कम्पनीहरूले त्यसलाई पालना गरेका छैनन् । खाडी देशमध्ये कतारले सहज पहुँच दिन भन्दै श्रमिक अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।

Leave Your Comment