देउवा सरकारका संचारमन्त्री बस्नेत पदमुक्त भएको चौथो दिन पनि मन्त्रीकै कुर्सीमा, राजनीतिक नियुक्ति गर्न संचार सचिवलाई दिए यस्तो निर्देशन!

७ फागुन–पूर्व सञ्चारमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत गत विहीवार तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएसँगै मन्त्री पदबाट मुक्त भएका थिए । तर, बस्नेतले पदमुक्त भएको चार दिनपछि पनि मन्त्रालयमा मन्त्रीकै हैसियतमा बैठक बस्ने र आफूले भने अनुसारका प्रतिवेदन बनाउन निर्देशन दिए ।

बिहीवारै पदमुक्त भएका बस्नेतले आइतबार सञ्चार सचिव केदारबहादुर अधिकारीलाई ठाडो निर्देशन दिंदै आफूलाई विदाई गर्न समारोह आयोजना गर्न लगाए । नयाँ क्याविनेट बिहीवारै बनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सञ्चार मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् । तर, सञ्चार सचिव अधिकारीले भने प्रधानमन्त्रीको जानकारीविना पूर्व सञ्चार मन्त्रीलाई मन्त्रीकै हैसियतमा राखेर चार दिनपछि आइतबार विदाई कार्यक्रम आयोजना गरे ।

सञ्चार मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा पूर्वमन्त्री बस्नेतले मन्त्रीकै हैसियतमा  आफनो कार्यकाल भरिको प्रतिबेदन तयार गरी तीन दिन भित्र पेश गर्न निर्देशन दिए । उनको निर्देशनपछि मन्त्रालयका कर्मचारीहरु समेत अलमलमा परेका छन् ।

मन्त्रीको हैसियतमा नभए पनि बस्नेतले मन्त्रीकै शैलीमा बैठक बस्न र विदाई समारोह आयोजना गर्न आदेश दिएपछि सहसचिबहरुले पदबाट हटिसकेपछि यस्तो निर्देशन गर्न नमिल्ने वताए । तर, सचिब अधिकारीले भने एक पटकका लागि भन्दै मन्त्रालय अन्तर्गतका कर्मचारीलाई बैठकमा उपस्थित हुन निर्देशन दिए । ‘भैहाल्यो  एक पटकलाई त्यति गरिदिउँ भनेर सचिवज्यूले भन्नुभयो’ समारोहमा सहभागि कर्मचारीले भने, ‘सचिवबाट आदेश आएपछि बैठकमा उस्थत हुनै पर्यो ।’

पूर्वमन्त्री बस्नेतको आदेशमा मन्त्रालयमा बैठक त बस्यो नै । उक्त समारोहको समाचार विशेष प्राथमिकताका साथ प्रशारण गर्न नेपाल टेलिभिजनलाई निर्देशन समेत दिइयो । निर्देशन बमोजिम नेपाल टेलिभिजनले चारदिन अघि नै पदमुक्त भइसकेका बस्नेतको विदाई र उनले दिएको निर्देशन सम्बन्धी समाचारलाई आइतबार साँझ प्राथमिकतासाथ प्रशारण गर्यो । बस्नेतका निजी सचिव चुडामणि कंडेल र रामेश्वर आचार्य नेपाल टेलिभिजनको समाचार महाशाखामा आइतबार साँझ खटिएका थिए । बस्नेतले आफ्नो विदाई समारोहमा ‘हेभी खाजा’ अर्डर गर्न समेत सचिव अधिकारीलाई निर्देशन दिए । उनको निर्देशन बमोजिम हेभी खाजा पनि आइपुग्यो । अनाधिकृत ब्यक्तिको आदेश बमोजिम गरिने खर्चलाई दुरुपयोगका रुपमा लिइन्छ ।

पूर्वमन्त्री बस्नेतका निजी सचिब चुडामणि कंडेल र रामेश्वर आचार्य आइतबारसम्म दिनहु मन्त्रालयमा उपस्थित भएर निर्देशन दिइरहेका छन् । उनीहरुले उनीहरुले शुक्रबार मात्रै दुई दर्जन भन्दा बढिलाई विभिन्न संस्थानहरुमा करारमा भर्ती गराएका थिए ।  आचार्य र कंडेलले नेपाल टेलिभिजनमा आफैं गएर पूर्वमन्त्रीले दिएको सूचीमा रहेमा ब्याक्तिहरुलाई नियुक्त गर्न दबाब दिए र दुई जनालाई सोहि दिन नेपाल टेलिभिजनमा करार सेवामा नियुक्ति दिइएको थियो ।
आइतबार नेपाल टेलिभिजनका अध्यक्ष दाहालले पूर्वमन्त्री बस्नेतले दिएको सूची अनुरुप भर्ती गर्न प्रशासन महाशाखालाई फाइल अगाडि बढउान निर्देशन दिए ।

बस्नेतका पीए कंडेलले प्रशासन महाशाखामै गएर तत्काल फाईल अगाडि बढाउन कर्मचारीलाई धम्की नै दिए । उनले धम्की दिएपछि  महाशाखाका कर्मचारीहरुले प्रहरी बोलाउन  खोजे । त्यसपछि उनीहरु ८ गते फेरि आउने भन्दै बाहिरिएका थिए । ‘हामी ८ गते आउँछौं, सञ्चार मन्त्रीज्यूले आदेश गरेको सूची अनुरुप करार नियुक्ति नगरे राम्रो हुँदैन भनेर गएका छन्’ नेपाल टेलिभिजनको प्रशासन महाशाखामा कार्यरत कर्मचारीले भने, ‘गुण्डागर्दीको पनि हदै भयो ।’

उता पूर्व सञ्चारमन्त्री बस्नेतले सरकार कामचलाउ हैसियतमा पुगेपछि गरेका नियुक्ति वर्तमान सरकारले बदर गरे अदालत जाने भन्दै अग्रिम रुपमा तयारी भएको छ । नेपाल टेलिभिजनमा कांग्रेस कार्यकर्ताका रुपमा भर्ती भएका कर्मचारी गोविन्द धिताल, शालिक सुवेदी आइतबार अन्तरवार्ताको निहुँ बनाएर प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भेट्न पुगेका थिए । वर्तमान सरकारले कामचलाउ सरकारले गरेका पछिल्ला अन्धाधुन्द नियुक्ति बदर गरे तत्काल बदर गरिदिन प्रधानन्यायाधीशसँग आग्रह गरेको उनीहरुले आफू निकटलाई वताएका छन् ।

Leave Your Comment

Related Post