सुटुक्क काँकरभिट्टा आएका ट्रम्पको चाहना- सोलुखुम्बुको गाउँमा छाप्रो बनाएर सगरमाथा हेर्दै जिन्दगी बिताउने!

मोहन काजी

ब्रेकफास्ट लिइरहेको बेला मोवायलमा रिङ बज्यो । मेची महानगरका मेयरले कल गर्नु भएको रहेछ । उठाए ।

उताबाट आवाज आयो–‘मोहनजी कता हुनुहुन्छ ?’

मैले भने–‘नमस्कार मेयर सा’व, घरमै छु, आज विहानै कल गर्नु भयो, किन होला ?’

उताबाट फेरि आवाज आयो–‘एउटा रिक्वेस्ट गरुँ कि भनेर नि । अमेरिकाको प्रेसिडेन्ट छन् नि, ट्रम्प । आँखा जँचाउन भोलि काँकरभिट्टा आउँदैछन् रे, यसो लोकतन्त्र पोस्टबाट एक जना रिपोर्टर पठाइदिने कि भनेर आग्रह गरेको नि ।’

‘हुन्छ नि, धन्यबाद’ भन्दै मैले फोन राखिदिएँ ।


…..

 

‘गुड मर्निङ सर ! अबको सेडुयल कता छ ?’

भोलिपल्ट विहान अफिस कोठामा पस्दै गर्दा पत्रकार साथी ज्ञानेन्द्रजी कालो चश्मा खोल्दै आइपुग्नु भयो ।

‘भर्खरै भूटानका राष्ट्रपतिको पत्रकार सम्मेलन सकेर आएको छु, अब अरु इम्पोर्टेन्ट प्रोग्राम छैनन्’–मैले सुनाए ।

‘अमेरिकाको प्रेसिडेन्ट आँखा जाँच्न आउने रे, छोटो प्रेस मिट पनि छ रे, प्रधानजीले फुर्सद भए आउनु होला भन्दै हुनुहुन्थ्यो, जाने हो कि ?’–ज्ञानेन्द्रजीले सोध्नु भयो ।

‘अस्तिसम्म डीभी र पीआर खुला गरिदिनु पर्यो भनेर रोइलो गरिरहेको थियो, अहिले चाहिँ क्युवालाई नेपालले सम्झाइदिनु पर्यो, सीमा मिचिदियो भनेर गनगन गर्ने होला’–मैले भने ।

जमानाको संसारकै महाशक्ति र अहिले संसारकै तन्नम मुलुकमध्येको एउटा अमेरिकाका राष्ट्रपतिको भिजिट हेरौँ न भनेर ज्ञानेन्द्रजीले कर गरेपछि हामी दुबै जना धुलावारीबाट काँकरभिट्टातिर गयौँ ।

ज्ञानेन्द्रजीले रिमोट अन गर्नासाथ बाइक उड्न थाल्यो । म पछाडिको सिटमा बसेँ ।

‘बेल्ट त बाँध्नु भयो नि’, ज्ञानेन्द्रजीले उड्ने बाइक पूर्वतिर आकाशमा हुइँक्याउँदै गर्दा सचेत गराउनु भयो–‘नेपालले हेर्दाहेर्दै प्रविधिमा कत्रो प्रगति गरिसक्यो है, त्यतिबेलाको गुड्ने अल्बा बाइक सम्झँदा त उदेकै लाग्छ नि ।’

निन्दा खोला पार गरेर हामी मेचीनगर महानगरपालिकाको कार्यालय परिसरमाथि उड्दै थियौँ । केही पर एउटा कार परेवा उडे झैँ महानगरपालिकाको ५० तले छतबाट पूर्व हुइँकियो र त्यसका अघिपछि १० वटा जति उड्ने कार थिए ।

‘ऊ हेर्नुस् त मेयर सा’ब पनि काँकरभिट्टातिरै लागे जस्तो छ’–उड्ने कारको लस्करतिर औलोले देखाउँदै मैले भने ।
……….

 

भद्रपुरको वीरेन राजबंशी इन्टरनेशनल एयरपोर्टमा उत्रिएपछि उड्ने कार चढेर अमेरिकाका प्रेसिडेन्ट ट्रम्प सीधै काँकरभिट्टा आइपुगेका रहेछन् ।

काँकरभिट्टाको भ्यू टावरमा ओर्लेर ५ मिनेट जति अघि बढेपछि ट्रम्प महानगरपालिकाका मेयर नजिक पुगे ।

‘के भयो मिस्टर ट्रम्प, उदास देखिन्छौ त ?’ भन्दै मेयरले एउटा माला गलामा लगाएर स्वागत गरे ।

‘प्रभू, तपाइँहरुको कृपाले सबै ठिकठाक थियो, तर यो आँखामा …’–ट्रम्प यति भनिनसक्दै भक्कानिए ।

‘तिमीलाई कसले के गर्यो फेरि ?’–मेयरले मायालु पारामा सोधे ।

‘त्यो फुच्चे किमले कुस्ती खेल्दा फल्ट खेलेर आँखै घोचिदियो, दुखेर मर्नु भएको छ’–ट्रम्पले व्यथा बिसाए ।

‘भो भो पर्दैन’, मेयरले ट्रम्पलाई सम्झाउँदै भने–‘समस्या पर्यो भन्दैमा यसरी बढी टेन्सन नलिनु, हामी छौँ नि ।’ तर ट्रम्पले निकैबेर विलौना गाइरहे ।

‘बुद्ध जन्मेको देशका हजुरहरु हाम्रा लागि भगवान नै हो, ओलीजीलाई भेट्ने ठूलो इच्छा थियो, नेपालले निम्तो नै गर्दैन, कसरी भेट्न जानु आफै !’–ट्रम्प बोले ।

त्यसपछि मेयरले ट्रम्पलाई आँखा हस्पिटलतिर डोहोर्याए । ट्रम्पले नेपालको बैज्ञानिक उन्नति रकेटस्तरमा भएको भन्दै त्यसबाट अमेरिकाले सिक्न चाहेका मेयरसँगको कुराकानीमा बताए ।

कृष्ण र शिशिर लगायतका पत्रकार साथीहरुले ट्रम्पको पोज पोजका फोटो खिच्दै थिए ।

मेरो छेवैमा उभिएको क्युवाको पत्रकार ख्यास्ट्रोले ट्रम्पको भिजिटले आफ्नो पत्रिकामा स्थान नपाउने प्रस्ट्याउँदै अर्को समाचार खोज्न बाँकी नै रहेको बतायो ।

‘नेपालले डीभी र पीआर चाहिँ अमेरिका, भारत जस्ता अति गरीव मुलुकहरुलाई वार्षिक कति सङ्ख्यामा खुला गर्ने भएको हो ?’–क्युवाली पत्रकारले मतिर आशाको नजरले सोध्दै कुरा मोड्न खोज्यो ।

नेपालले चन्द्र र मङ्गल ग्रहमा बस्ती बसाएपछि त्यहाँ जानका लागि अति गरीव मुलुकहरुलाई डीभी र पीआरको कोटा दिने हालै घोषणा गरेको थियो । यो खबरले विश्वभर सनसनी फैलिएको कारण क्युवाली पत्रकार त्यही समाचारको खोजीमा रहेछ ।

‘तिमीले हिजोको लोकतन्त्र पोस्टको इभिनिङ संस्करण हेरेनौँ, त्यहाँ कुन देशलाई नेपालले कति कोटा छुट्याइदिएको छ भन्ने पूरा विवरण छ’–मैले उसलाई बताइदिएँ ।

यति थाहा पाएपछि उसले ब्यागबाट डिजिटल पेपर निकालेर स्क्रीनमा औँला थिच्दै लोकतन्त्र पोस्ट सर्च गर्न थाल्यो ।

‘आँखा उपचारका लागि ब्रह्मान्डकै उत्कृष्ट गन्तब्य ‘आइकेयर सिटी’मा यहाँहरुलाई स्वागत छ !’

परैबाट स्वागत गेट देखियो । दुई सय तलाको मुख्य भवनतर्फ हामी बढ्दै थियौँ । ट्रम्पलाई स्वागत गरेर मेची महानगरका मेयर फर्किसकेका थिए ।

पाँच हजार हेक्टर फराकिलो जग्गामा आँखाका सबै हस्पिटलहरुलाई यहाँ एकीकृत गरिएको थियो । पहिले हस्पिटलहरु अलग अलग ठाउँमा थिए रे । कोही विर्तामोडमा, कोही चारपानेमा, कोही पुरानो भन्सारमा त कोही बाहुनडाँगी रोडमा । अहिले सबै एउटै परिसरमा छन्, तर विजनेस भने आआफ्नै रहेछ ।

संयुक्त राष्ट्रसङ्घ र युनेस्कोले आँखा उपचारका लागि ब्रह्मान्डकै उत्कृष्ट भनेर यो ‘आइकेयर सिटी’लाई सूचीकृत गरिसकेको छ ।

ट्रम्प सहयोगीहरु सहित सरासर हस्पिटलतिर बढे । भब्य भवन, भब्य व्यवस्थापन । राखिएका सङ्केत बोर्डहरुले देखाइरहेको थियो–‘विपन्न देशका नागरिक, असहाय, युद्धपीडित र शरणार्थीहरु यतातिर लाइन लागेर प्रतीक्षा गर्नु होला, शुल्कमा सहुलियत प्रदान गरिने छ ।’

अर्कोतिर अर्कै सङ्केत बोर्ड थियो–‘धनी मुलुकहरुका नागरिकहरु यता लाइन लाग्नु होला, शुल्क दोब्बर लाग्ने छ ।’

ट्रम्प सरासर ‘अति विपन्न देशको नागरिक’ लेखिएको लाइनतिर लागे । भूटान, सोमालिया, अफगानिस्तान, बङ्गलादेशका नागरिकहरु महङ्गो शुल्क लाग्ने लाइनतिर थिए भने अमेरिका, भारत लगायतका देशका नागरिकहरु सहुलियत पाइनेमा लामबद्ध थिए ।

‘मोहनजी लु जाउँ अब, अरु केही काम नभए जस्तो यो ट्रम्पको पछि लागेर किन समय बर्बाद गर्नु ?’–पत्रकार महासङ्घका अध्यक्ष तारामणि सापकोटा मतिर फर्केर गुन्गुनाउनु भयो ।

हस्पिटलका मेनेजर प्रधानजीले सुन्नु भएछ । ‘बाहिर बस्न बोर भयो भने तपाइँहरु भित्रै जान सक्नु हुन्छ, म केही कफी खाजाको पनि व्यवस्था गर्छु’–प्रधानजीले आत्मीयता देखाउँदै भन्नु भयो ।

हामी पत्रकारहरु भित्रतिर लाग्यौँ । ‘तपाइँहरुलाई थाहै होला, यो चाहिँ विगत एक वर्षको विदेशी पाहुनाको डेटा हो’–शानदार गेस्टरुमको भित्तामा रन गरिरहेको डिजिटल स्क्रीन देखाउँदै प्रधानजी बोल्नु भयो ।

मैले डेटातिर आँखा दगुराए । त्यहाँ लेखिएको थियो । गत वर्ष विश्वका १ सय ८८ देशका राष्ट्र प्रमुख नियमित आँखा जाँचका लागि काँकरभिट्टा आएका रहेछन् ।

हामी बसेकै गेस्ट रुम छेउमा मुख्य डाक्टरको च्याम्बर थियो, जहाँ आँखा जँचाउन विश्वभरिका राष्ट्र प्रमुखहरु महिनौँ क्युमा बसेर धाउँछन् ।

यत्तिकैमा एक जना सेतै जुगादाह्री फूलेको बुढो मान्छे ‘खै कता हुनुहुन्छ डाक्टर सा’ब’ भन्दै च्याम्बरतिर बढेको देखियो । अनुहार कताकता टिभीमा देखे जस्तो लाग्यो ।

‘धत् यी बुढा त मोदी पो रहेछन्’, कान्तिपुरका पर्वतजीले हँस्यौली पारामा भन्नु भयो–‘ओलीको प्रगतिको खबर धेरै पढेर यिनको आँखाको पनि पावर गएजस्तो छ ।’

‘होइन म यो के देख्दैछु, मोदी आएको त कसैले खबर गरेन त ?’–ट्रम्प लाइनमा लागेको भिडियो खिचेर भर्खरै गेस्टरुमा आइपुगनु भएका पत्रकार लक्ष्मी उप्रेतीले हस्पिटलका मेनेजर प्रधानजीलाई सोध्नु भयो ।

‘म भन्दैछु, कुरा यसो हो’, प्रधानजी बोल्नुभयो–‘मोदीजी आउनु भएको एक हप्ता भइसक्यो, क्युमा बस्दाबस्दै उहाँको बल्ल आज पालो आयो ।’
………..

पत्रकार सम्मेलन भइरहेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले संसारकै सबैभन्दा राम्रो उपचार हुने भएकाले आफु काँकरभिट्टा आएको बताए । उनले पदबाट रिटायर्ड भएपछि सोलुखुम्बुको एउटा कुनै गाउँमा छाप्रो बनाएर आनन्दपूर्वक अन्तिम दिनहरु सगरमाथा हेरेर बिताउन चाहेको बताए ।

‘तपाईले महाशक्ति राष्ट्र नेपालका प्रधानमन्त्री एवम् विश्व नेता केपी ओलीलाई भेट्न पाउनु भएको भए के माग गर्नु हुने थियो ?’–ट्रम्पलाई टिभी जर्नालिस्ट टिकाराम नेतिको प्रश्न थियो ।

‘अति सान्दर्भिक र मलाई सबैभन्दा मन पर्ने प्रश्न राखिदिनु भएकोमा धन्यबाद’, पत्रकार नेतितिरै फर्किएर ट्रम्पले उत्तर दिए–‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूलाई मैले भेट्न पाएको दिनलाई सर्वप्रथम म मेरो जीवनको सबैभन्दा सफल दिन ठान्ने छु ।’

ट्रम्प भन्दै थिए–‘नेपालले हरेक क्षेत्रमा गरिरहेको प्रगति आज मानव जातिको महान उपलब्धि भएको छ । चन्द्रमा र मङ्गल ग्रहमा मान्छेको बस्ती बसाउने काममा सफलता पाएकोमा बधाइ दिदै सम्माननीय ओलीज्यूसँग हामी गरीव अमेरिकी जनतालाई पनि दयापूर्वक केही डीभी र पीआरका लागि अवसर प्रदान गरिदिनु हुन विनम्र बिन्ती चढाउन चाहन्छु ।’

‘ट्रम्प महोदय, तपाइँले आफ्नो फुलो परेको आँखाको उपचार बारे केही बताउनु भएन त ?’–पत्रकार दिपीन राईले जिज्ञासा राख्नु भयो ।

ङिच्च हाँस्दै ट्रम्प बोले–‘हो त झण्डै बिर्सिएछु ।’

आफ्नो आँखामा फुलो नपरेको र जन्मजात नै खैरो भएको उनले पत्रकारहरुलाई बताएका थिए । फुच्चे किमले घोचिदिँदा भएको गहिरो घाउका कारण रेटिना नै बदल्नु पर्ने अवस्था आएको ट्रम्पले पत्रकार सम्मेलनमा बताए ।

सुरुमा वासिङ्टन डीसीमा, त्यसपछि जापानको टोकियोमा आँखाको घाउ देखाएको र त्यहाँबाट रेफर गरेर नेपालको काँकरभिट्टा आएको उनले खुलस्त जानकारी दिए । आँखाको उपचारमा नेपालले आर्जन गरेको प्रसिद्धी मिराकल नै भएको ट्रम्पको भनाइ थियो ।

‘जाउँ हौँ अब’, ट्र«म्प बोलिरहँदा पत्रकार दीर्घाबाट राजु अधिकारीले खास्खास् खुस्खुस् गरेको सुनिदैथ्यो–‘नागरिक पूर्वेलीको कार्यालयमा प्रदेशका मुख्यमन्त्री भिजिट गर्न आउने भन्दैथिए, केटाहरुले फोन गरिरहेका छन्, यो बुढो ट्र«म्प फतफताइरहन्छ भरेसम्म, सुनेर बसिरहन भ्याइँदैन ।’

।। कथा ।। हाम्रो दमक बाट

Leave Your Comment