कसरी गर्लान अब प्रधानन्यायाधीशले काम? प्रधानन्यायाधीश पराजुलीले तोकेको इजलास ८ न्यायाधीशहरु द्वारा बहिस्कार

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले पेशी तोकेका इजलासमा जान आठ न्यायाधीशहरुले अस्वीकार गरेका छन् । मंगलबार प्रधानन्यायाधीश पराजुलीले ११ इजलास तोकेका थिए । तर इजलासमा ८ न्यायाधीश पुगेका छैनन् । न्यायाधीश नपुगेपछि सर्वाेच्च अदालतका चार इजलास रिक्त भएका छन् ।

न्यायाधीश चोलेन्द्र शम्शेर जवराले प्रधानन्यायाधीश पराजुलीले पेशी तोकेका इजलासमा नजाने निर्णय लिएको दोस्रो दिन आठ न्यायाधीश अनुपस्थित भएका छन् । सर्वाेच्च अदालतमा विहान ११ बजेदेखि इजलास सुरु हुने गरेको छ । तर दिउँसो १ बजेसम्म आठ न्यायाधीश इजलास छिरेनन् ।

न्यायाधीशहरू हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, दीपकराज जोशी र प्रकाशसिंह राउतले दिउँसो १ बजेसम्म इजलास बहिष्कार गरेका छन् । तिनै न्यायाधीशले सोमवार प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय सम्पादनबाट अलग हुन सुझाव दिएका थिए । प्रधानन्यायाधीश पराजुलीबिरुद्ध विद्रोह गर्ने न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलास भने मंगलबार तोकिएको छैन ।

आठ न्यायाधीश दिउँसो १ बजेसम्म इजलासमा नछिरेपनि प्रधानन्यायाधीश पराजुलीसहित १० न्यायाधीश भने नियमित न्याय सम्पादनमा जुटेका छन् । पराजुलीसहित न्यायाधीशहरू तेजबहादुर केसी, ओमप्रकाश मिश्र र डम्बरबहादुर शाही, दीपककुमार कार्की र टंक मोक्तान, केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी, मिरा खड्का र बमकुमार श्रेष्ठको इजलास भने चलिरहेको छ ।

Leave Your Comment