नयाँ आइजीपीको दौडमा थप तिन डीआइजीहरुको ‘इन्ट्री’! नयाँ बहस: अब ६ मध्य को बन्लान त आइजीपी?

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल लगायत १५ जना एआइजीपी, २२ जना डिआइजी चैत २८ गते एकैसाथ अवकाश पाउँदै छन् । त्यसपछि प्रहरीको भावी नेतृत्वका लागि डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको मात्रै चर्चा चलिरहेको अवस्थामा नयाँ वहस शुरु भएको छ ।

 

तीन जना भन्दा पहिले नै प्रहरी निरीक्षक बनेका अर्का तीन डिआइजीलाई आइजीपी बनाउँनु पर्ने आवाज प्रहरी संगठन भित्रैबाट उठन थालेको हो । खनाल, खरेल र कार्की २०४६ सालमा प्रहरी निरीक्षक बनेको थिए भने उनीहरु भन्दा एक बर्ष अगाडि नै प्रहरी निरीक्षक बनेका छविलाल जोशी, पवन खरेल र उत्तम कार्कीलाईलाई आइजीपी बनाउँदा वरिष्ठताको कदर हुने, कसैको पनि आइजीपी हुने सपना अधुरो नहुने र सर्वोच्च अदालतको आदेश अनुसार पनि हुने राय प्रहरीमा जोडतोडका साथ उठेको हो ।

खनाल, खरेल र कार्कीसँगै एकैदिन २०७४ असार ३० गते डीआइजीमा बढुवा भएका छविलाल जोशी, पवन खरेल र उत्तम कार्कीलाई आइजीपीमा बढुवा गर्दा पनि खनाल, खरेल र कार्की तीनै जनालाई आइजीपी हुने समय मिल्छ । जोशी, खरेल र कार्की तीन जना आइजीपी भएपनि आगामी असार ३० गते प्रहरीको ३० बर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । उनीहरु तीनै जना २०४५ साल असार ३० गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

अहिले मैदानमा रहेका १२ डिआइजीहरु मध्ये यी तीन जना सबै भन्दा वरिष्ठ भएको कारण पनि उनीहरुलाई समस्या नपर्ने र भावि आइजीपी चयनका लागि पनि सरकारलाई सहज हुने अवस्था रहेको जानकारहरुको भनाई छ ।

गत वर्ष तत्कालीन प्रमुख विपक्षी नेकपा एमालेले नवराज सिलवाललाई आईजीपी नबनाएर सरकारले उनीमाथि अन्याय भएको भन्दै त्यसलाई राजनीतिक मसला बनायो । त्यतिबेलाको प्रमुख विपक्षी एमाले अहिले सत्तामा छ र ठीक एक वर्षपछि नेपाल प्रहरीको आईजीपी नियुक्ति गर्ने ठाउँमा एमाले नै छ ।

विगतमा नवराज सिलवाललाई अन्याय भयो भनेर सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै उत्रिएका केपी शर्मा ओली आफैं प्रधानमन्त्री भएका बेला अब आईजीपी बनाउँदा न्यायको सिद्धान्त अनुसार होला भन्ने पनि आशा धेरैले गरेका छन् ।

प्रहरी नियमावली ०७१ को नियम ४१ मा प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु मध्येबाट र एआईजी नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मध्येबाट छान्ने उल्लेख छ ।

बढुवा गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको दर्जाका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेका उम्मेदवारलाई छान्नुपर्ने उल्लेख छ ।

अहिले प्रहरी महानिरीक्षकका लागि दाबेदारका रुपमा १२ जना डीआईजीहरु छन् । नम्बर अनुसार डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ,मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत र सुरेश विक्रम शाह आईजीपीका दाबेदार हुन् ।

आईजीपी नियुक्तिको आधार कार्य सम्पादान मूल्यांकनबाट मात्र नभएर ऐनले नै प्रष्ट व्यस्था गरेकाले आफ्नो कार्य क्षमता र नेतृत्व कुशलतालाई सरकारले मूल्याङ्कन गर्ने अपेक्षामा धेरै प्रहरी अधिकारीहरुको छ ।

सरकारले पसपटक आईजीपी नियुक्त गर्दा ८ महिना मात्र डीआईजी भएकामध्येबाट छान्नुपर्नेछ । यसपटक आईजीपी बन्दै गरेका डीआईजीहरुको डीआईजी भएपछिको कार्य सम्पादन मूल्याङ्कनको नम्बरसमेत छैन । किनकि, प्रहरी नियमावलीअनुसार असार मसान्तपछि मात्र कार्य सम्पादन मूल्याङ्कन नम्बर दिइन्छ ।

त्यसैले सरकारले कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता र आफूभन्दा मुनिको फोर्सलाई परिचालन गर्ने सामथ्र्यका आधारमा सरकारले आईजीपी नियुक्ति गर्न आर्थिक बर्षको अन्तिममा कार्य सम्पादन मूल्यांकन गर्न पनि सजिलो हुने भएका कारण छविलाल जोशी, पवन खरेल र उत्तम कार्की मध्ये कसैलाई पनि आइजीपी बनाए हुने अवस्था छ । न्यूज२४ नेपाल ।

Leave Your Comment