मोदीलाई भारतीय मिडियाहरुको सुझाव: “नेपालसंगको सम्बन्ध सुधार्न नया प्रतिवद्दता होइन पुराना कार्यान्वयन गर”

काठमाडौं, २७ चैत –प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण द्धिपक्षीय सम्वन्ध सुधारका लागि सकारात्मक भएको भन्दै केही भारतीय संचारमाध्यमले नयाँदिल्लीलाई नयाँ प्रतिवद्धता जनाउन भन्दा जनाएका पुरा गर्नमा केन्द्रीत हुन सुझाव दिएका छन् ।

नेपालका प्रधानमन्त्रीहरुका भारत भ्रमणलाई खासै महत्व नदिने त्यहाँका संचारमाध्यमले यसपटक प्रधानमन्त्री ओलीको भ्रमणलाई महत्व दिंदै भारतलाई बिग्रेको सम्वन्धलाई पुर्नव्यवस्थित गर्न अवसर भएको बताएका हुन् ।

भारतीय दैनिक ‘द हिन्दु’ मंगलवार भ्रमणमाथि संपादकीय लेख्दै प्रधानमन्त्री ओलीको भारत भ्रमण द्धिपक्षीय सम्वन्धलाई पुर्नव्यवस्थित गर्न महत्वपूर्ण भएको उल्लेख गरेको छ । भ्रमणको जोड ‘कनेक्टिभिटी’मा रहेपनि नेपालको संविधानलाई लिएर भारतले राखेको असन्तुष्टीले उत्पन्न असहज अवस्था अव टरेको उल्लेख छ ।

अखवारले सम्वन्ध सुधारको पहल भारतीय प्रधानमन्त्री मोदीबाट भएको र त्यसलाई नेपालका प्रधानमन्त्री ओलीले पनि स्वागत गरेको भन्दै अवको अवस्था नाकाबन्दीको जस्तो नरहेको बताएको छ ।

नेपाल र भारत सम्वन्धको यो ‘रिसेट’ लामो समयदेखि दुबै देशले गर्नुपर्ने प्राथमिकताको सूचीमा रहेपनि वल्ल त्यसतर्फ परिस्थिति अघि बढेको उल्लेख छ । नेपालमा भारतीय हस्तक्षेपवारे काठमाडौंमा व्याप्त षड्यन्त्रको सिद्धान्त र नयाँदिल्ली तथा नेपालस्थित भारतीय कूटनीतिज्ञको ‘प्याट्रोनाइजिङ’ प्रवृतिका कारण सम्वन्धमा सुधार नआएको भन्दै अव नयाँ ढंगमा अघि बढ्ने विश्वास राखेको छ ।

अखवारले सम्वन्धलाई सकारात्मक बनाउने पहिलो फड्को भनेको सन् १९५० को शान्ति तथा मैत्री सन्धीलाई अद्यावधिक गर्ने जारी प्रक्रियालाई पूर्णता दिनुपर्ने बताएको छ । ‘त्यस्तै, नेपालका युवाहरुले भारत वाहिर पनि अवसर खोजेका छन् भने भारतले बुझ्नुपर्छ भने प्रधानमन्त्री ओलीको नेपाललाई ‘ल्याण्डलक्ड’ बाट ‘ल्याण्डलिंक’ बनाउने चाहनालाई भारतले सकारात्मक रुपमा लिनुपर्छ’ संपादकीयमा भनिएको छ ।

भारतले नेपालमा सहयोगका प्रतिवद्धता जनाउने तर काम नगर्ने कारणले गर्दा सम्वन्धमा सुधार नआएको भन्दै अव सडक र रेल, उर्जा र भूकम्पपछिको सहयोगमा भारत केन्द्रिकृत हुनुपर्ने अखवारको सुझाव छ । ‘नयाँ नयाँ पहल थाल्नुभन्दा थालिएकालाई सम्पन्न गरेर साझेदारीताको सफल उदारण देखाउनुपर्छ’ भनिएको छ ।

Leave Your Comment