मन्त्रिपरिषद्को बैठक बाट यस्तो आयो आइजीपी नियुक्ति बारे प्रतिक्रिया, आजै अर्को बैठक बस्दै को बन्लान आईजीपी?

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सहसचिव डिल्लीराज घिमिरेलाई बढुवा गरी प्रधानमन्त्री कार्यालयको सचिव बनाएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बाँस्कोटाका अनुसार सरकारले व्यापारी, उद्यमीलगायतलाई सीमान्तकृत समुदायका १ जना बालबालिकाको शिक्षादीक्षाको जिम्मेवारी लिन पनि आग्रह गर्ने निर्णय पनि गरेको छ।

त्यसको सुरुवात वैशाख १ गतेदेखि नै विद्यार्थी भर्ना गरेर गर्न सकिनेछ।

बैठकमा चासोको साथ हेरिएको नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा के निर्णय भए/नभएको बारे राज्यमन्त्री बाँस्कोटाले केही खुलाएनन्।

‘आइजिपीको निर्णय बेला भएपछि आइहाल्छ,’ उनले भने।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले उमेर हदका कारण बिहीबारदेखि अवकाश पाउँदै छन्।

उनको कार्यकालको एक दिनअघिसम्म पनि नयाँ आइजिपी को हुने भन्ने टुंगो छैन।

आइजिपीका लागि अहिलेका १२ जना डिआइजी प्रतिष्पर्धी छन्। गृह मन्त्रालयले सोमबार साँझ ती १२ जना डिआइजीको अभिलेख प्रहरी प्रधान कार्यालयबाट मगाएको थियो।

१२ मध्ये १ नम्बरमा ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनाल, २ नम्बर सुरक्षा सेवा निर्देशनालयका प्रमुख रमेश खरेल, तीन नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख पुष्कर कार्की रहेका छन् भने लागु औषध नियन्त्रण ब्यूरो प्रमुख धीरू बस्नेत चौथो नम्बरमा छन्।

प्रहरी नियमावलीमा यी १२ जना डिआइजीमध्ये सरकारले जसलाई योग्य ठान्छ उसैलाई आइजिपी नियुक्त गर्न सक्ने प्रावधान छ।

Leave Your Comment