ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार अब ठाउकोठाउ कारबाहीमा! ठेकेदार रबिन्द्र लामा यसरि परे फन्दामा

ओखलढुंगा, चैत २७

ओखलढुंगामा ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार विरुद्ध जनप्रतिनिधिले कारबाही अभियान सुरु गरेका छन् । निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिले काम नगर्ने ठेकेदार विरुद्ध कारबाही थालेका हुन् ।

जनप्रतिनिधि नहुँदा लामो समय देखि जिल्लामा ठेक्का लागेर पनि विकास आयोजनाका कामहरु सम्पन्न हुन सकेका थिएनन् । निर्वाचित भएपछि जनप्रतिनिधिहरु विकास निर्माणका काममा भएको ढिला सुस्ती रोक्न लागि परेका हुन् । सोमबार जनप्रतिनिधिले जिल्लाको मोलुङ खोलाका २ स्थानमा निर्माण सम्पन्न भईसक्नुपर्ने सडक पुलको काम हालसम्म अघि नबढाउने ठेकेदारलाई जनताका बिचमा उभ्याएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउन लगाएका छन् ।

सांसदका प्रश्नले छुट्यो ठेकेदारका पसिना

सोमबार मोलुङ करिडोर सडकको अनुगमन गर्ने कार्यक्रम थियो । प्रत्यक्ष निर्वाचित सांसदको रोजाईमा बन्ने एउटा सडक आयोजना अन्तरगत २०७० सालमा निर्वाचित भए पश्चात सांसद यज्ञराज सुनुवारको पहलमा सुरु भएको मोलुङ एकवारको काम मुलखर्कको भुल्के सम्म पुगेको छ ।

सोही सडक अनुगमन गर्न प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्मा सहितका सरोकारवालाहरु मुलखर्कको भुल्के पुगे । त्यहाँबाट फर्किएपछि मोलुङ दोभानमा निर्माण हुनुपर्ने सडकपुलको अनुगमन गर्ने कार्य सुचि थियो ।

मोलुङ दोभान पुग्दा त्यहाँ पुल निर्माणका लागि १ जना ड्राईभर डोजर लगाएर जिप खनिरहेका भेटिए । अर्का एक मजदुर डोजर अघिपछि घुमिरहेका थिए । ०७५ असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम भर्खरै सुरु भएको छ ।

सक्नुपर्ने बेला काम सुरु गरेको भन्दै आक्रोेशित जनप्रतिनिधिले त्यस नजिकै एक होटलमा ठेकेदार रविन्द्र लामालाई भेट्टाए । ठेकेदार भेटाए लगतै सांसद सुनुवारले आक्रोशित हुँदै कुनै पत्रकारले अन्तरवार्तामा गरे प्रश्न गरे झै ठेक्का लिएको काम समयमा पुरा नहुनुको कारण सोधे ।

सांसदले एकपछि अर्को प्रश्न गरेपछि ठेकेदार लामा असिन पसिन हुँदै तत्काल काम अघि बढाउन सहमत भए । समयमा काम नगर्ने ठेकेदारलाई जनप्रतिनिधिले जनताका बिचमा उभ्याएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउन बाध्य पारे ।

पौष मसान्त सम्ममा दुवै पुल निर्माण सक्ने ठेकेदारको प्रतिवद्धता

मोलुङ एकवार सडक आयोजना अन्तरगत पर्ने मोलुङ दोभान र मान्द्रे दोभानको पुल निर्माणको काम आगामी पौष मसान्त सम्ममा सम्पन्न गर्ने ठेकेदारले प्रतिवद्धता जनाएका छन् ।

जेठ मसान्त सम्ममा पुलको जिप तयार गर्ने, मंसिर मसान्त सम्ममा ट्रष्ट जोड्ने र पुस मसान्त सम्ममा पुल निर्माण गरेर माघको पहिलो साताबाट सवारी सञ्चालन हुने अवस्था तयार गर्ने वाइवा केउरीनी जेभी कन्ट्रक्सनका प्रतिनिधि रविन्द्र लामाले सरोकारवाला र स्थानीय नागरिक सामु लिखित प्रतिवद्धता जनाए । यही कार्ययोजना अनुसार निरन्तर काम अघि बढाउने उनले बताए ।

‘विभिन्न कारणले ढिला भयो अब काम तिव्रगतीमा अघि बढ्छ ।’ लामाले भने,‘पुस मसान्त सम्ममा पुल बनाई सकेर गाडी गुड्ने बनाउँछु ।’ वर्षा अगावै आधा भन्दा बढि काम सक्ने उनले बताए । लामाले प्रतिवद्धता जनाए अनुसार नै नियमीत काम गरे समयमै पुल निर्माण सम्पन्न हुने जिल्ला इन्जीनियर विजयमुनी बज्राचार्यले बताए ।

भ्याट सहित ४ करोड ३ लाखमा मोलुङ दोभानको पक्कि पुल २०७५ असार मसान्त सम्ममा निर्माण सक्पन्न गर्नेगरि २०७३ असारमा वाइवा केउरीनी जेवी कन्ट्रक्सनले ठेक्का सम्झौता गरि जिम्मा लिएको थियो । सम्झौता अवधि सकिन ३ महिनामात्रै बाकीँ छँदा भर्खरै काम सुरु भएको छ ।

वाइवा केउरीनी जेवी कन्ट्रक्सनले नै २ वर्ष अघि सक्नेगरि ठेक्का लिएको मान्द्रे दोभानको पुलको काम पनि अघि बढ्न सकेको छैन । दुवै पुल निर्माणको काम आगामी पौष मसान्त सम्ममा सक्ने ठेकेदार लामाले प्रतिवद्धता जनाएका छन् ।

दोस्रो पटक मौका नदिने चेतावनी

समयमा काम नगर्ने ठेकेदारले अब तत्काल काम अघि बढाउने बताएपछि सांसद यज्ञराज सुनुवारले दोस्रो पटक मौका नदिने चेतावनी दिए । ‘ठेक्का लिने काम नगर्ने यो प्रवृती अब चल्दैन याद गर्नुस्’ सुनुवारले ठेकेदारलाई भने ‘अब तपाईले प्रतिवद्धता जनाए अनुसार काम नगरे कालो सुचिमा राखेर कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

ठेकेदार लामालाई काम नसक्दा सम्म जिल्ला नछाड्न आग्रह गरे । उनले विकास निर्माणमा ढिला सुस्ती र अनियमिता गर्ने जो कोहीलाई नछाड्ने सांसद सुनुवारले चेतावनी दिए । जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले समयमा काम नगर्ने ठेकेदार र विकासको विरोध गर्नेहरुलाई जनताका बिचमा नै कारबाही गरिने बताए ।

‘जिम्मा लिएको काम नगर्ने, भ्रष्टचार गर्ने र विकासको बाधक बन्ने जो सुकै होस् जनताका बिचमा उभ्याएर कारबाही गरिन्छ ।’ प्रमुख श्रेष्ठले भने ‘फिल्डमै जाने,त्यहीँ समातेर जनताका अगाडी कारबाही गर्ने हो ।’ सोही अभियान अन्तरगत सोमबार मोलुङ दोभानको पुल निर्माणको जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई नागरिकका अघि काम गर्ने प्रतिवद्धता जनाउन लगाएको उनले बताए ।

जिल्लाका दर्जन भन्दा बढि विकासका आयोजना ठेक्का लागेर पनि निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सकिँदा सम्म काम सुरु नै गरिएको छैन । कतिपय आयोजनाहरु आधा काम गरेर अलपत्र अवस्थामा छाडिएको छ । जनताटाइम्स बाट

Leave Your Comment