बैदेशिक रोजगार विभागमा मन्त्री बिस्टको अर्को एक्सन! ताहाचलबाट बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जना पक्राउ

काठमाडौं, चैत २८ –  वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई प्रहरीले पक्रिएको छ ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाइ पक्रिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिनुभयो ।

विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि  उनीहरुलाई पक्रिन सादामा पोशाकमा प्रहरी खटिएका थिए ।  यसअघि गएको फागुन २३ गतेपनि ३५ जना पक्राउ परेका थिए ।

Leave Your Comment