काममा ढिलासुस्ती भैरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अवलोकन गर्न उर्जामन्त्री सहित पुग्नुभएका प्रधानमन्त्रीको निर्देशन “तोकिएकै समयमा आयोजना पुरा गर्नु”

२८ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न निर्देशन दिनुभएको छ । बुधबार स्थलगत निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्री ओलीले जसरि भएपनि तोकिएकै समयमा आयोजना सक्न निर्देशन दिनुभएको हो । २०७५  पुस महिनामा पूरा हुने लक्ष्य राखिएको यो ४ सय ५६ मेगावाटको आयोजना हो ।

आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि  निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्रीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भन्दै समयमै सक्नु पर्ने बताउनुभएको हो । आयोजनाको लागत ३९ अर्ब २९ करोड हुने आँकलन छ । सुरुमा यो आयोजनाको लागत ३५ अर्ब ३० करोड आँकलन गरिएको थियो ।

 

प्रधानमन्त्तीले २०७६ को वैशाखसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा आउनुपर्ने बताउनु भयो । ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन, अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू’ प्रधानमन्त्रीको निर्देशन थियो ।

प्रधानमन्त्रीले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म ब्रिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए उक्त सडक तत्काल मर्मत गर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले परामर्शदाता र निर्माण कम्पनीलाई भुक्तानी दिन आवश्यक पर्ने विदेशी मुद्राको सटही सहज बनाइदिने पनि बताउनुभयो ।

 

प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुनले पनि निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताउनुभयो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताएका छन् । उनले भने ‘एक महिना मात्रै पनि यो आयोजना छिटो निर्माण सम्पन्न गर्न सकियो भने अर्बौ रकम बचत हुन्छ ।’

 

आयोजना प्रमुख विज्ञान श्रेष्ठले भने भारतीय कम्पनी टेक्सम्याकाले काम नगरेका कारण आयोजनाको काम समयमै निर्माण अघि बढ्न नसकेको बताएका छन् । श्रेष्ठले अहिलेसम्म आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको जानकारी गराए ।

Leave Your Comment