राष्ट्रको नाममा सम्बोधन र रारा महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री ओली आज रारा जादै

३० चैत – नयाँ वर्ष २०७५ का दिन मुगुको रारामा भोलि (शनिबार)देखि आयोजना हुने रारा पर्यटन वर्ष उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) त्यसतर्फ जाँदै छन् ।

बागलुङ हुँदै कर्णाली पुग्ने क्रममा प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि ओली साँझ डोल्पाको दुनै पुग्ने बताइएको छ ।

कर्णाली प्रदेशले आयोजना गर्ने रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले भोलि वैशाख १ गते उद्घाटन गर्ने छन् । त्यसअघि बिहान उनले राराबाटै राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

देशबाट निरक्षरता उन्मूलनका लागि सबै जनप्रतिनिधिले जस्तै आफूले पनि एक बालिकालाई विद्यालय लगेर नाम लेखाउने घोषणा गरेका प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने तयारी पनि गरेका छन् ।

भर्ना अभियान सार्थक बनाउन यसवर्ष प्रधानमन्त्रीसहित मन्त्री, सांसद र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले बालबालिकालाई विद्यालय लगेर नाम लेखाउने कार्यक्रम यसअघि नै तय भइसकेको छ ।

रारामा होटलको अभाव भएपछि पर्यटक र अतिथिलाई पिना, झयारी, कोटिला, ताल्चा, तलितुमलगायत १२ गाउँमा बस्ने व्यवस्था मिलाइएको पर्यटन वर्ष मूल समितिले जनाएको छ ।

पर्यटकको सुविधाका लागि रारा र नजिकैका केही स्थानमा वल्र्डलिंक कम्पनीमार्फत फ्री वाइफाई सञ्चालन गरिएको छ ।

Leave Your Comment