नवनियुक्त आइजीपी खनालको कडा एक्सन! “सबैभन्दा पहिले प्रहरी भित्रै स्विप अपरेसन”

काठमाडौं ३० चैत । नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनमा आन्तरिक सुदृढिकरणका साथै ‘स्विप अप्रेसन’ थालिने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहणपछि मातहतलाई निर्देशन दिने क्रममा उनले चेतावनीको भाषा बोलेका हुन् ।

गृहमन्त्रालयमा बिहीबार बिहान दर्ज्यानी चिह्न लगाएर उनले नक्सालस्थित प्रहरी मुख्यालयमा पदभार ग्रहण गरेका थिए ।

मुख्यालयमा हाजिरीपछि सर्वेन्द्रले प्रहरी संगठनको सुदृढिकरण, संरचनागत सुधार, प्रहरीको वृत्तिविकास तथा सेवासुविधा आफ्नो प्राथमिकता रहेको बताए । उनले भने, ‘अब प्रहरी संगठनभित्रै स्विप अप्रेसन हुन्छ । तस्कर र अपराधीसँग हात मिलाउने होइन, अब सशक्त अप्रेसन हुन्छ । पेशागत आचरणविपरीत कार्य गर्ने र भ्रष्ट क्रियाकलाप गर्नेहरु कारवाही भोग्न तयार हुनुस् ।’

उनले संगठन धुमिल्याउनेमाथि कडा कारवाही हुने बताए ।

‘ग्राहक कुरेर बस्ने पसले होइन प्रहरी । अब सबैले जिम्मेवार र जवाफदेही भएर काम गर्नुस् । संगठनको वृत्ति विकासमा म सक्दो प्रयास गर्छु,’ उनले भने, ‘कानुनमा कहीँ नझुक्नू र नचुक्नू ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट

Leave Your Comment