देशभर चक्काजाम घोषणा गरेका सिन्डिकेटधारी बिरुद्द आक्रामक बन्यो सरकार, यस्तो छ सरकारको ‘एक्सन’

काठमाडौं । यातायात व्यवसायीले वैशाख २० गते देशभर चक्काजामको घोषणा गरेका छन् । सिन्डिकेट हटाउन सरकारले चालेको कदमको विरोध गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।

वैशाख २० गते सांकेतिक स्वरुप चक्काजाम गर्ने र २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने कार्यक्रम रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । सरकारलाई ‘घुँडा टेकाउन’ भन्दै यातायात व्यवसायीले यस्तो आन्दोलनको घोषणा गरेका हुन् ।

मयूर यातायातलाई काठमाडौंदेखि बनेपासम्म रुट परिमिट दिएपछि व्यवसायी सरकार विरुद्ध खनिएका थिए । उनीहरुले उक्त रुट परिमिट खारेज गर्न माग गर्दै सवारीसाधन चलाउन बन्द गरेपछि यातायात व्यवस्था विभागले अन्यलाई पनि रुट परिमिट दिएको थियो । यतिबेला सरकार र यातायात व्यवसायीबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ ।

व्यवसायीले सरकारलाई घुटा टेकाएरै छाड्ने बताईरहेका छन् भने सरकारले अब छानी छानी कारवाही गर्ने चेतावनी दिईरहेको छ । सवारी साधन अत्यावश्यक सेवाभित्र पर्ने भन्दै बन्द गरे कडा कारवाही गर्ने यातायात व्यवस्था विभागले चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागका प्रवत्ता तुलसीराम अर्यालले अत्यावश्यक सेवा बन्द गर्न नपाईने बताए । ‘अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन । बन्द गर्ने व्यवसायीलाई कारवाही गर्छौं,’ प्रवक्ता अर्यालले भने ।

सरकारले निर्देशिका जारी गर्दै कम्पनीमार्फत् सार्वजनिक यातायात चलाउनुपर्ने, यातायात समिति असारदेखि नविकरण नगर्ने लगायतका सुधारका मुद्दा अघि बढाएको भन्दै त्यसलाई सबैले सहयोग गर्नुपर्ने प्रवक्ता अर्यालको जोड छ ।

सरकारले जारी गरेको निर्देशिका कार्यान्वयन नगर्ने व्यवसायीलाई कारवाहीको दायरमा ल्याउने उनको भनाई छ । ‘सरकारले ल्याएको निर्देशिका हामी मान्दैनौं भन्नु उनीहरुको मुर्खता हो । आम सर्वसाधारण नागरिकलाई समस्या पर्ने खालको जुनसुकै गतिविधि स्वीकार्य हुदैंन्’ प्रवत्ता अर्यालले भने । आवश्यक परे उनीहरुको इजाजत समेत खारेज गर्न सकिने उनको भनाई छ ।

Leave Your Comment