शिर्ष नेताहरुको पदीय व्यवस्थापन हुन नसक्दा पार्टी एकता रोकिएको खुलासा! मिलाउने जिम्मा ओली र प्रचण्डलाइ

काठमाडौं, बैशाख ४

नेकपा एमाले र माओवादी केन्द्रविचको एकता प्रक्रिया नेता ब्यवस्थापनका कारण लम्बिने भएको छ । विशेषगरी माओवादी दोस्रो तहका नेताले शिर्ष नेतृत्वलाई आफुहरुको व्यवस्थापनलाई वेवास्ता नगर्न चेतावनी दिएपछि एकता प्रक्रिया नै अलमलमा परेको हो ।

यसविषयमा आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा छलफल भएको छ । बैठकले थप छलफल आवश्यक रहेको भन्दै शिर्ष नेतृत्वलाई यस विवादको समधान खोज्न भनेको छ । राजनीतिक तथा विधान र संगठनात्मक कार्यदलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मेवारी पनि २ शीर्ष नेतालाई दिएको छ ।

कार्यदल सदस्य माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक दिशामा अघि बढेको बताउँदै नेताहरुको कार्यब्यस्तता तथा विवादीत बिषयमा थप छलफल आवश्यक रहेकोले कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर गर्ने भनिएको एकता पछि धकेलिएको जानकारी दिनुभयो ।

कार्यदलको प्रतिवेदनलाई दुई शीर्ष नेताले अन्तिम रुप दिएपछि संयोजन समितिको बैठक बसी एकताको नया मिति घोषणा गर्ने नेता श्रेष्ठले जानकारी दिनुभयो । यद्यपी दुई दलले बैशाखको १५ गते नकटाउने नया भाका राखेका छन् । एकीकृत पार्टीमा रहने केन्द्रीय समितिको संख्या, निर्वाचन चिन्ह तथा पार्टीको विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने भन्ने बिषयमा पछिल्लो समय दुई दलबीच विवाद देखिदै आएको छ । एमालेले एकताको तयारीका लागि यही वैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

‘सूर्य’ चिह्नमा समझदारी

पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।
पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिनुभयो । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन् ।

महासचिव पोखरेलले भन्नुभयो, “हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो । अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्काे संयोजन समितिको बैठकले निर्णय गर्नेछ ।”

Leave Your Comment