प्रधानमन्त्री ओलीका महत्वपूर्ण भाषणहरु समेटेर चिनियाँ भाषामा तयार गरिएको पुस्तक चीनको राजधानी बेईजिङमा विमोचन

काठमाडौं, ४ बैशाख ।
प्रधानमन्त्री ओलीका महत्वपूर्ण भाषणहरु समेटेर चिनियाँ भाषामा तयार गरिएको पुस्तक मंगलवार चीनको राजधानी बेईजिङमा विमोचन गरिएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बेईजिङस्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रममा उक्त पुस्तक विमोचन गरेका हुन् ।
पुस्तकमा प्रधानमन्त्री ओलीका भाषणहरु समावेश गरिएको जनाइएको छ । यसअघि चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाली भाषामा अनुवाद गरिएको पुस्तक काठमाडौंमा विमोचन गरिएको थियो ।


पुस्तक विमोचनपछि आयोजित पत्रकार सम्मेलनमा पराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘आज हामी प्रधानमन्त्री ओलीको महत्वपूर्ण भाषणहरु चिनियाँ भाषामा अनुवाद गरिएको पुस्तक विमोचन गरेका छौं । यसले चीनका अध्ययनकर्ताहरुलाई नेपालबारे बुझ्न र त्यहाँको समस्याबारे  थाहा पाउन ठूलो सहयोग गर्नेछ ।’ पाङगोल इन्टिच्यूट एण्ड साउथ एसियन इन्टिच्यूट अफ सिचुवान युनिभर्सिटीका प्रोफेसर लि तावोले चिनियाँ भाषामा अनुवाद गरेकी हुन् । नेपालका प्रधानमन्त्रीको पुस्तक चिनियाँ भाषामा अनुवाद गरेर प्रकाशन गरेको घटना सम्भवतः पहिलो हो ।
चीन भ्रमणमा रहेको परराष्ट्र मन्त्री ज्ञवालीले बुधबार बिहान चीनका उपराष्ट्रपति वाङ छिसानसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उपराष्ट्रपति छिसानसँग भेटवार्ता गरेपछि मन्त्री ज्ञवालीले चिनियाँ स्टेट गेस्टहाउस त्याउथाइमा चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उक्त भेटपछि संयुक्त पत्रकार सम्मेलन गरिने बेईजिङस्थित नेपाली दुताबासले जनाएको छ ।

पुस्तक विमोचन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल खुशी नेपाल’ भन्ने नाराका साथ साथ युवाहरु उत्पादनमूलक रोजगारीमा सहभागी गराउने आयोजना बेईजिङलाई सुनाएका छन् ।

Leave Your Comment