अन्तत: प्रधानमन्त्री ओलीको सपनाले लियो गति! मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन आयोजनामा पाईप विछ्याउन शुरु, कहिले हुन्छ पुरा?

बारा । बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन आयोजनामा पाईप विछ्याउन थालिएको छ । जीतपुर–सिमरा उप–महानगरपालिका–२ बाट पाइप गाड्न सुरु गरिएको हो । भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म करिब ३६ किलोमिटरमा पाइप विच्छ्याइने छ ।

भारतीय सहर रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाईन विस्तारको जिम्मेवारी पाएको भारतीय कम्पनी लिखिथा इन्फ्रास्टक्चर प्रालिले पन्ध्र महिनाभित्र सक्ने गरी काम गरिरहेको छ ।

 

फागुन २३ गतेदेखि ‘वेल्डिङ’ थालिएको पाइप मंगलबारबाट विछ्याउन सुरु गरिएको हो । भारतमा निर्माण गरिएको औसत साढे ११ मिटर लम्बाई र १० दशमलब सात पाँच इन्चको पाईप जोड्ने र विच्छ्याउने काम सँगसँगै चलिरहेको छ ।

औसतमा साढे दुई मिटर गहिराईमा रहने पाइप केही भागमा १५ मिटरसम्म पुर्नु पर्ने आयोजनाले जनाएको छ । भारतको मोतिहारीदेखि रक्सौलसम्म पाईप विच्छाउन लाग्ने २७५ करोड भारतीय रुपैयाँमध्ये ७५ करोड नेपालले व्यहोर्ने सहमति छ ।

 

बारको जीतपुर र परवानीपुर बजार, पथलैया–अमलेखगञ्जको जंगल तथा नेपाल–भारत सीमा क्षेत्रमा पाइप विच्छ्याउन कठिन हुने अनुमान छ । भारत विहारको बरौनी रिफाइनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पेट्रोलियम ढुवानी हुने पाईपलाईन पहिले देखिनै सञ्चालित छ ।

पटना–मुगलसराय सेक्टर बीचमा पर्ने विहारकै सिवान भन्ने ठाउँमा ‘ट्याप अफ पोईन्ट’ निर्माण गरी त्यहाँबाट एउटा लाईन भारत उत्तर प्रदेशको बैतालपुरसम्म र अर्को लाईन सिवानबाट मोतिहारी हुँदै अमलेखगञ्जसम्म जोड्ने योजना भारतिय आयल निगमको छ । पाइपलाइनले मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ र रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ दशमलव २ किलोमिटर दूरी पार गर्ने छ ।

आयोजनाको ‘ट्याप अफ पोईन्ट’ मोतिहारीभन्दा अमलेखगञ्ज उच्च भागमा छ । मोतिहारीको उचाई समुद्री सतहबाट ७६ दशमलव ६ मिटर रहँदा अमलेखगञ्ज ३ सय ३ मिटरमा पर्छ ।

गहिरो ठाउँबाट अग्लो स्थानतर्फ तेल पठाउनु पर्ने भएकाले मोतिहारीमा उच्च क्षमताको पम्प मार्फत पाईपलाईनमा तेल पठाईने छ । सोही कारण पाईपसमेत उच्च गुणस्तरको जडान गरिएको आयोजनाले जनाएको छ ।

Leave Your Comment