परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा चिनियाँ उपराष्ट्रपति र चिनियाँ विदेशमन्त्री संग भेटवार्ता सम्पन्न, यस्तो रह्यो संयुक्त पत्रकार सम्मेलन

काठमाडौं, ५ वैशाख– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीचको उच्च ब्यापार घाटा कम गर्नमा सहयोग गर्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको छ ।

चीनको पाँचदिने औपचारिक भमणमा रहनुभएका मन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँगको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा ब्यापार घाटा कम गर्ने उपाय अपनाउन आग्रह गर्नुभएको हो । मन्त्री ज्ञवालीले आज चिनियाँ उपराष्ट्रपति र चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको हो । चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तापछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुभएको थियो ।

उहाँले प्रधानमन्त्री ओलीले मार्च २०१६ मा गरेको चीनको भ्रमणमा भएका सम्झौता र सहमतिको कार्यान्वयनमा जोड दिंदै त्यसका लागि नेपाल तयार रहेको बताउनुभयो । ‘चीनसँग भएको पारवहन र यातायात सम्झौताको प्रस्तावित प्रोटोकलवारे धारणा आदान प्रदान भयो । यसलाई छिटै अन्तिम रुप दिइने छ’ उहाँले भन्नुभयो ।

उहाँले बीआरआई अन्तगर्त भएका सम्झौता कार्यान्वयन गर्नेवारेमा पनि धारणा आदानप्रदान भएको बताउनुभयो । नेपाल बिकास र समृद्धिको लक्ष्यमा अघि बढीरहेको बेला चीनसँग बिकासका क्षेत्रमा साझेदारिता गर्न नेपाल तयार रहेको उहाँले बताउनुभयो ।

Leave Your Comment