बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गर्दै सरकारको निर्देशिका पालना नगर्ने यातायात व्यवसायीहरुको चेतावनी

वैशाख ६, काठमाण्डौ । सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । सोअघि विभिन्न खालका दबाबकूलक आन्दोलनका कार्यक्रम तय गरिएको छ ।

सरकारले सिन्डिकेट हटाएसँगै त्यसको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलिमय ढुवानी महासंघ, ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलिम डिलर राष्ट्रिय एसोशियनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफूहरुले सिन्डिकेट नै नगरेको दाबी गरेका छन् ।

देशभरी जहाँ, जुन समितिमार्फत नयाँ गाडी चलाउन चाहे पनि आफूहरुले नरोकेको उनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै कर्माचार्यले संघ संस्था दर्ता ऐन २०३४ अनुसार जुन समितिमा नयाँ सवारी साधन दर्ता गर्न चाहे पनि खुला रहेको उनको दाबी छ ।

“हामीले सिन्डिकेट लागु गरेका छैनाँै । सिन्डिकेट भन्ने शब्द हाम्रो शब्दकोषमै छैन ।” कर्माचार्यले भने ।

नयाँ गाडी थप्नुपर्दा व्यवस्थापनका लागि केही शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको तर अन्य कुनै शीर्षकमा शुल्क नलिइने उनले स्पष्ट पारे ।

सरकारले सिन्डिकट हटाउने भनेर गरेको एकलौटी निर्णय आफूहरुलाई थाहा नै नभएको कर्माचार्यले बताए ।

यातायात व्यवस्था विभागले चैत १८ गते जारी गरेको निर्देशिकाको आफूहरुले विरोध गरेको उनले बताए । निर्देशिका बनाउँदा सरोकारवाला निकायसँग सल्लाह नै नगरेको भन्दै उनले आपत्ति जनाए ।

तानाशाही शैलीमा निर्देशिका जारी गरेर लागु गरिएको भन्दै उनले उक्त निर्देशिका पालना नगर्ने बताए ।

“हामीसँग एक शब्द नसोधिकन लागु गरिएको निर्देशिका हामी मान्दैनौँ । पञ्चायतकालमा पनि नभएको कुरा अहिले गर्न मिल्छ ? मौलिक अधिकार हनन् भएको छ । त्यो को हो यातायात व्यवस्था विभाग भनेको ?” कर्माचार्यले भने ।

यसैबिच भौतिक पूर्वाधार था यातायातमन्त्री रघुबीर महासेठले यातायात व्यवसायीहरुको माँग सम्बोधन गर्नको लागि समिति बनाउने १५ दिनभित्र सबै समस्या हल गर्ने तयारी थालेका छन् ।

Leave Your Comment