पार्टी एकतामा ‘ब्रेक थ्रु’ जुर्यो एमाले-माओवादी एकताको मिति! अब कहिले पार्टी एकता?

वैशाख ८ – चुनावी तालमेल मात्र होइन पार्टी नै एक बनाउने भनेर एमाले र माओवादीले गरेको घोषणा आधा वर्षसम्म पनि पूरा हुन सकेको छैन । वैशाख ९ गते एकता घोषणै गर्ने भनिए पनि त्यो मिति टर्ने निश्चित मात्र भएको छैन तत्काल एकता घोषणा हुन कुनै सुखद आश्चर्य नै हुनुपर्ने एकता प्रक्रियामा लागेका नेताहरु नै बताउन थालेका छन् ।

एकता घोषणा गर्ने मिति पटक–पटक सारिएको छ । एकताको आधार तयार गर्न गठन गरिएका दुवै कार्यदलले चैत २२ गते नै प्रतिवेदन बुझाइ सकेका छन् । तर पनि एकताको प्रगति अघि बढ्न सकेको छैन ।

मंसिर १० र २१ गतेको प्रदेशसभा र प्रतिनिधिसभा चुनावले दुवै दललाई नजिक्याएको थियो । गएको असोज १७ गते चुनावी तालमेलको घोषणा गरेका दुवै पार्टीले चुनाव लगत्तै पार्टी एकीकरण गर्ने बताउने गरेका थिए ।

यो अवधिमा एकताका लागि तोकिएको मिति २ पटक सारिसकिएको छ । एमाले माओवादी नेताहरुले फागुन ७ गते पार्टी एकताको सातबुँदे आधारमा हस्ताक्षर गर्दै चैत पहिलो हप्ता एकता टुंगोमा पुर्‍याउने बताएका थिए । तर पछि फेरि वैशाख ९ गते कम्युनिष्ट दिवसको दिन पारेर एकता घोषणा गर्ने भनिएको थियो ।

के मा अड्कीयो कुरो ?

एकता गर्नैपर्छ भन्नेमा दुवै दलका शीर्ष नेताहरु एकमत छन् । तर पनि एकतामा अवरोध भइरहेको छ । दुवै पार्टी फरक–फरक विचार र परिवेशबाट आएकाले एकता गर्दा समान हैसियतमा हुनुपर्ने माओवादीले भन्दै आएको छ । एकतापछि बन्ने पार्टीको केन्द्रीय समितिमा दुवै पार्टीका बराबरी सदस्य हुनुपर्ने उसको अडान छ ।

एमालेले भने चुनावी नतिजा अनुसार नै एकता हुनुपर्ने प्रस्ताव गरेको छ । एकताका लागि संख्या भन्दा पनि चुनावी परिणामलाई आधार बनाउनुपर्ने एमाले नेताहरुको भनाइ छ ।

यस्तै, नयाँ पार्टीको दस्तावेजमा ‘जनयुद्ध’ शब्द राखिने नराखिने विषयमा पनि विवाद कायमै छ । पार्टीको चुनाव चिन्ह मिल्न बाँकी अर्को विषय हो ।

यद्यपि चुनाव चिह्न र प्रस्तावनामा जनयुद्ध शब्द लेख्ने वा नलेख्ने विषयमा त्यति धेरै असहमति नभए पनि सांगठनिक रूपमा कुन पार्टीको कति प्रतिनिधित्व हुने विषयमा नै एकताको हलो अड्कीएको नेताहरुले बताएका छन् ।

अहिले तयार पारिएको प्रस्तावका आधारमा पार्टी एकता भए ३३ सदस्यीय स्थायी समितिमा एमालेबाट २२ र माओवादीबाट ११ जना मात्र सदस्य बन्न पाउनेछन् । यो भनेको माओवादी केन्द्रको एमालेमा विलय हुन जाने विश्लेषण माओवादी नेताहरुले गरेका छन् । यही कारण एमाले र माओवादी केन्द्रबीचको एकता झन लम्बिँदै गएको हो ।

यस्तै पार्टीको चुनाव चिन्ह सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने माओवादीले माग गरेको छ । तर एमाले सुर्य लोकप्रिय भइसकेकाले सुर्य चिन्हलाई नै निरन्तरता दिनुपर्ने बताउँदै आएको छ ।

एमालेका नेता आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुनेमा एमाले स्पष्ट रहेको बताउनुहुन्छ । प्रश्न गणितको होइन, उहाँले भन्नुभयो, ‘हामी योग्य र सक्षम नेतालाई जिम्मेवारी दिन्छौं, संख्या त १÷२ जना तलमाथि हुनसक्छ ।’

एकताको प्रक्रियामा देखिएका समस्या हल गर्दै केही ढिलो नै भए पनि अब देशमा ५० वर्ष नेतृत्व प्रदान गर्ने गरि दुवै पार्टीबीच एकता हुने उहाँको भनाइ छ ।

अब कहिले ?

पार्टी एकताको मिति तोक्ने जिम्मा दुवै दलका अध्यक्षले पाएका छन् । वैशाख ९ गतेका लागि एकताको मिति तोकिएकोमा समयमै सबै विषयमा सहमति नबनेपछि सहमति हुन बाँकी रहेका विषयमा सहमति खोज्दै एकताको मिति तोक्ने जिम्मा दुबै अध्यक्षले पाएका हुन् ।

एकताको मिलन विन्दु पहिल्याउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै छलफल हुने क्रम बाक्लिएको छ । शुक्रबार पनि झण्डै ३ घण्टा दुवै अध्यक्षबीच छलफल भएको छ । शनिबार पनि दुवै दलका अध्यक्षबीच छलफल हुँदैछ ।

एकतालाई जसरी पनि टुंगोमा पु¥याउन अध्यक्षले छलफल गरिरहनु भएको छ, छिट्टै विवाद रहेका विषयमा सहमति निस्कने र एकताको मिति तोकिने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिजालले बताउनुभयो ।

एकदुई दिनमै विवादित विषय टुंग्याएर यही वैशाख १९ गते अर्थात मजदुर दिवसको दिन पार्टी एकता घोषणा गर्ने नयाँ ‘साइत’ निकाल्न सकिनेबारे छलफल हुन थालेको दुवै दलका नेताहरुले बताएका छन् ।

तर अहिले असहमति भइरहेका विषय त्यति सजिलोगरि मिल्ने र अबका १० दिनमा पार्टी एकता घोषणा हुने सम्भावना भने कम मात्रै देखिन्छ ।

Leave Your Comment