Breaking News: मे ५ अर्थात बैशाख २२ गते एमाले-माओवादी पार्टी एकता! ओली र प्रचण्डबीच बन्यो यस्तो सहमति

काठमाडौँ, ९ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता अब कार्ल माक्र्सको जन्मजयन्ती अर्थात मे ५ का दिन गर्नेगरि तयारी भएको छ ।

उच्च स्रोतले दिएको जानकारी अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको समझदारी अनुसार पार्टी एकताको बृहत्त घोषणा यही बैशाख २२ गते गर्ने आन्तरिक सहमति बनेको छ।

नेकपा–एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रम झण्डै चार घण्टापछि शुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ६९ औं स्थापना एवं १४८ औं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको कार्यक्रम ब्यानर विवादले रोकिएको प्रभावित भएको थियो ।

झन्डै तीन घन्टा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहमा फुर्सदका गफ चुटेर विताए, आइतबार ।

एकीकरणको चरणमा रहेका दुवै पार्टीका अध्यक्ष निर्धारित समयभन्दा केही मिनेट मात्र ढिलो भएका थिए । तर, व्यानर विवादका कारण कार्यक्रम सुरू हुन नसकेपछि उनीहरू भीआइपी कक्षमा तीन घन्टा गफिए ।

भीआइपी कक्षमा प्रचण्डका परिवारका सदस्य पनि उपस्थित थिए भने ओलीका आफन्त पनि आएका थिए ।

‘कार्यक्रम ढिलो भएपछि उहाँहरू गफिनु भयो । आजको सन्दर्भ एकताका विषयमा कुराकानी गर्ने भन्दा पनि कार्यक्रम कसरी सफल बनाउने भन्नेमा थियो’, प्रचण्ड परिवारका एक सदस्यले भने,‘एकीकरणका सन्दर्भमा हल्काफुल्का कुरो भयो ।’

दुवै दलका कार्यकर्ताहरूले खचाखच भरिएको थियो सभा हलसहितको परिसर । त्यतिमात्र होइन, भृकुटी मण्डपमा पनि कम्युनिष्ट कार्यकर्ताको भिड थियो । मानौ, ६९ औं कम्युनिष्ट स्थापना दिवसको औपचारिक कार्यक्रम भन्दा पार्टी एकताको घोषणा नै हुँदैछ ।

‘सरप्र्राइज’ पनि हुनसक्ने भएकाले म यहाँ आएको हुँ । तर भित्र छिर्ने ठाउँ नभएपछि भृकुटी मण्डपतिर लागें’, युवा संघ केन्द्रीय सदस्य युद्धवीर पाण्डेले भने,‘एकीकरण जसरी पनि हुनुपर्छ भन्ने दबाबका लागि पनि आएको थिएँ ।’

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री समेत रहेका कारणले सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा कार्यकर्ता प्रवेशलाई रोक लगाइयो । मिडियालाई पनि भीआइपी प्रवेशद्वारबाट मात्रै छिर्न दिइएको थियो । कतिपय मिडियाकर्मीलाई भने त्यसै फर्काइयो ।

Leave Your Comment