पुर्वप्रधानमन्त्री माधव नेपालको प्रस्ताव: “भूकम्पले क्षति पुर्‍याएका संरचनाहरुको पुनःनिर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिउ”

काठमाडौँ, १० बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पले क्षति पुर्‍याएका संरचनाहरुको पुनःनिर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिँदा उचित हुने बताएका छन् । सोमबार पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पुनःनिर्माणमा धुर्मुस–सुन्तलीले गरेको कामको प्रसंशा गर्दै नेता नेपालले व्यक्तिलाई अनुदान दिनुको सट्टा बाँकी पुनःनिर्माणको काम पनि उनीहरुलाई दिँदा छिटो काम सम्पन्न हुने धारणा व्यक्त गरे । उनले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताए ।

उनले भूकम्पका कारण देशको विकासमा ठूलो क्षति पुगेको बताए । भूकम्पपछिको समयमा राहत वितरणको लागि आफू स्वयम् खटिएको बताउँदै नेता नेपालले भूकम्प पीडितहरुलाई अनुदान तथा राहत दिने कुरामा सरकारको पहल पर्याप्त नभएको स्वीकार गरे । भूकम्प पीडित जनता अझै पनि त्रिपाल मुनि बस्न बाध्य भएकाप्रति नेता नेपालले दुःख व्यक्त गरे । जनतालाई आश्वासन बाड्ने काम मात्रै भएको उनले बताए ।

नेता नेपालले भावी पुस्तालाई ७२ सालको भूकम्पका बारे पुस्तकले यथार्थ जानकारी गराउने बताए । यस्ता दैवीप्रकोपजस्ता घटनाका बारेमा संस्मरण लेख्ने बानी बसाल्नुपर्नेमा नेता नेपालले जोड दिए । कार्यक्रममा एमाले नेता नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाललगायतको उपस्थिति रहेको थियो ।

Leave Your Comment