प्रहरीले नै युवतीमाथि एसिड प्रहार गरेपछि गृहमन्त्री थापा आक्रोशित, एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न दिए यस्तो निर्देशन

चितवन, वैशाख १०

गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गर्नुभएको थियो । अस्पताल पुगेर महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्र्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

“यो दुःखद घटना घटेको हो,” उहाँले भन्नुभयो, “यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।” गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताउनुभयो ।

सो अवसरमा चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटना तथा खनियाँमाथि गरिएको कानूनी कारबाहीका बारेमा जानकारी गराउँदै खनियाँलाई निलम्बन गरी छ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको बताउनुभयो ।

Leave Your Comment