पूर्वराजा ज्ञानेन्द्रको योजनामा धार्मिक दंगा फैलाउने नियतका साथ हिन्दू धर्मगुरु आचार्य श्रीनिवासले आफैलाई गोलि हान्न लगाएको खुलासा!

बिराटनगर, बैशाख २६

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासले पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा धार्मिक दंगा फैलाउने नियतका साथ आफूमाथि गोली प्रहार गराएको रहस्य खुलेको छ । पूर्वराजा ज्ञानेन्द्रलाई भेट गरेलगत्तै आफैले पेस्तोलको व्यवस्था गरी गोली हान्नसमेत सिकाएको तथ्य उनकै अंगरक्षकले खोलेका हुन् ।

गत २५ चैतमा आचार्य श्रीनिवासमाथि मध्यराती गोली प्रहार भएको थियो । सो गोली काण्डको रहस्य पत्ता लगाई प्रहरीले केही अभियुक्तलाई नियन्त्रणमा लिएपछि धार्मिक दंगा मच्चाउनका लागि घटना रचिएको तथ्य बाहिर आएको हो । आचार्यलाई गोली हान्ने माधव चौधरी र पेस्तोल उपलब्ध गराउने लक्ष्मीराज अधिकारीको वयानपछि पूर्वराजाको रणनीतिमा श्रीनिवासले यस्तो योजना बनाएको पाइएको छ ।

आचार्यका सहयोगी दुवैले हिन्दू अधिराज्य कायम गर्नका लागि भएका आन्दोलन सार्थक नभएपछि हिन्दू धर्मगुरु र हिन्दू धर्मावलम्बीलाई उक्साउन गोलीकाण्डको योजना तय गरिएको वयान प्रहरीसमक्ष दिएका थिए । ‘हिन्दू अधिराज्य कायम गराउने आचार्य श्रीनिवासको अभियानलाई रोक्न गैरहिन्दूहरूले गोली हानेको प्रचार निर्मल निवासमार्फत गराइयो । रापप्रालाई विरोध र्याली नै निकाल्न लगाइयो,’ घटनामा पूर्वराजाको संलग्नता उल्लेख गर्दै स्रोतले भन्यो ।

सोही सूचनाका आधारमा करिब एक महिनाको छानबिनपछि प्रहरीले आचार्य श्रीनिवास स्वयं नै घटनाको मुख्य योजनाकार रहेको तथ्यमा पुगेको हो । निर्मल निवासको संलग्नता रहेको पूर्वसंकेत पाइसकेको प्रहरी टोलीले उपचारलगत्तै काठमाडौं हुँदै दिल्ली भाग्ने क्रममा आचार्य श्रीनिवास रहेको सूचना पाइसकेको थियो । सो सूचनाकै आधारमा प्रहरीले काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतका अनुसार हिन्दू अधिराज्य पुनःस्थापना गर्ने अभियानमा जनताको ध्यान नतानिएका कारण श्रीनिवास आफैंले आफ्नै अंगरक्षक प्रयोग गरेर गोली हान्न लगाएका थिए । गोली हान्ने पेस्तोलसमेत उनैले उपलव्ध गराई दुई दिन तालिमसमेत दिइएको थियो ।

‘गुरुले नै गोली चलाउन सिकाउन लगाउनुभयो, हातमा हान्नु भन्ने आदेश थियो, तर रातको समय भएकाले छातीमा लाग्न पुग्यो,’ आचार्य श्रीनिवासका अंगरक्षकले चौधरीले प्रहरीसमक्ष दिएको वयानमा भनेका छन् । प्रहरीका अनुसार फिल्मी शैलीमा तीन मिटर परबाट हातमा लाग्ने गरी हानिएको गोली असावधानीबस् छातीमा लागेको वयान श्रीनिवासका अंगरक्षक चौधरीले दिएका हुन् ।

प्रहरीले सो घटनाको जड पत्ता लगाउनसमेत आफ्नो ध्यान केन्द्रित गरेको छ । घटना हुनुभन्दा एक महिना अघिदेखि विराटनगरमा पूर्वराजावादीहरूको चहलपहल निकै बढेको विषयलाई समेत अनुसनधान थालिएको छ । पूर्वराजा ज्ञानेन्द्र झापास्थित आफ्नै हिमालयन टी गार्डेनमा मुकाम बनाएर अतिवादी हिन्दू नेता तथा धार्मिक गुरुहरूलाई भेटेपछि यो घटना घटाइको स्रोतको भनाइ छ ।

ज्ञानेन्द्रले घटना हुनुभन्दा एक साताअघि मात्रै आचार्य श्रीनिवासलाई भेट गरेका थिए । टी गार्डेनमै पूर्वराजासँग लामो छलफल गरेका आचार्यले विराटनगर फर्केलगत्तैबाट धार्मिक दंगा भड्काउने योजना बनाएको स्रोतले बतायो । स्रोतका अनुसार करिव डेढ सयभन्दा बढी नेता कार्यकर्ता भेटेका पूर्वराजा ज्ञानेन्द्रले सबैलाई हिन्दू अधिराज्य स्थापनाका लागि उक्साएका थिए ।

उनले अभियान अघि बढाउँदा लाग्ने खर्चको चिन्ता नगर्नसमेत भनेको स्रोतले बतायो । ‘यसरी भएन, हाम्रो धर्म संस्कृति परम्परा समाप्त पारिँदै छ, तपाईंहरू जाग्नोस्,’ भेटेजति सबैलाई पूर्वराजा ज्ञानेन्द्रको भनाइ उधृत गर्दै एक पूर्वराजावादीको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्रले हिन्दू अधिराज्य नभए ‘तीन राप्रपाबीचको एकताको काम छैन’ भन्ने अडानसमेत राखेका थिए । उनको सो षडयन्त्र जानकारी पाएलगत्तै कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तीन वटै राप्रपाले पार्टी एकता गर्ने निचोडसहित नेपालमा कुनै प्रकारको राजसंस्था नचाहिने र पूर्वराजाको गतिविधिमाथि सरकारले निगरानी राख्नुपर्ने बताएको थियो ।

‘पूर्वराजाको हर्कत देखेर नै राप्रपाका तीनै अध्यक्षले एकता वार्ताको बैठकमा निगरानीमा राख्नुपर्ने बताएका हुन्, तर, सरकारले पूर्वराजावादीकै सहयोगी रहेको नेताहरूको संकेत बुझ्न सकेन र बिराटनगरमा यस्तो काम सफल गराए,’ राप्रपा (प्रजातान्त्रिक) का एक नेताले भने । स्रोतका अनुसार निर्मल निवास संघीय लोकतान्त्रिक गणतन्त्र फाल्दै राजसंस्था कायम गराउन हिन्दू धर्मलाई माध्यम बनाउन चाहन्छ ।

‘हिन्दू राज्य कायम गर्न’ भएको आन्दोलन सार्थक नभएपछि हिन्दू धर्मावलम्बी र धर्मगुरुलाई निर्णायक आन्दोलन गर्न उक्साउनका लागि ज्ञानेन्द्रले आचार्यलाई निर्देशन दिए, उनले आफ्नै अंगरक्षकलाई स्वयंमाथि गोली प्रहार गर्न लगाएर दंगाको अन्तिम योजना बनाए,’ स्रोतले भन्यो । ‘गोलीकाण्ड गराउनका लागि आचार्यले अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाएर चौधरीलाई गोली हान्ने तालिमसमेत दिलाएको तथ्य मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले दिइसकेका छन् ।

घटना भएकै दिनदेखि शंकामा रहेका अंगरक्षक चौधरी २६ दिनपछि पक्राउ परेपछि आचार्यको षड्यन्त्र पर्दाफास भएको हो । उनीसँगै पूर्वराजा ज्ञानेन्द्रको धार्मिक दंगा भड्काउने योजना पनि खुलेको हो । ‘विराटनगर घटना आचार्यले होइन, पूर्वराजाले नै बनाएका हुन्, यसमा गम्भीर छानबिन हुन जरुरी छ,’ हिन्दू धर्मकै एक गुरुले भने ।

हातहतियार तथा खरखजाना मुद्दा, १० दिनको म्याद थप

विराटनगर । धार्मिक हिंसा फैलाउने उद्देश्यका साथ आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ ।

धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका आचार्यलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले १० दिनको म्याद दिएको छ ।

उनलाई गोली हानेको अभियोगमा पक्राउ परेका माधव चौधरी र पेस्तोल उपलब्ध गराउने लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । आचार्यकै आग्रहमा आफूहरूले उनलाई गोली हानेको वयान उनीहरूले प्रहरीलाई दिएका थिए ।

आचार्यलाई जिल्ला प्रहरी मोरङको हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए । तर, आचार्यमाथि गोली प्रहार भएको पेस्तोल प्रहरीले बरामद गर्न नसक्दा मुद्दा कमजोर हुन सक्ने वकिलहरूले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले हेर्ने उक्त मुद्दामा आरोप प्रमाणित भए एक वर्ष कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । सौर्य दैनिक

Leave Your Comment