एमाले-माओवादी पार्टी एकता कार्यक्रममा सामेल हुन् कार्यकर्तालाई प्रधानमन्त्री ओलीद्वारा ३ बजे राष्ट्रियसभा गृहमा भेला हुन निर्देशन

काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब कम्युनिस्ट पार्टी एक हुने प्रक्रिया सुरु भएको बताएका छन् । ‘नेपालमा कम्युनिष्ट पार्टीको फुट मात्र थियो। अब जुट्ने क्रम सुरु भएको छ। अब कसैले पार्टी फुटाउने छैन’ उनले भने।

मदन भण्डारी र जीवराज अश्रितको २५औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले ३ बजे एकताका लागि राष्ट्रियसभा गृहमा भेला हुन कार्यकर्तालाई निर्देशन दिए।

नेपालको इतिहासमा आजको दिन सबैभन्दा महत्त्वपूर्ण रहेको उनले बताए। ‘कम्युनिष्ट एक भए भने देशमा अधिनायकवाद आउँछ भनेर केही केही साथीहरूले भनेका थिए’, उनले भने, ‘तर हामी शासन गर्न एक भएका होइनौँ। विकास गर्न एक भएका हौँ। हामी भ्रष्टाचार अन्त्य गर्न एक भएका हौँ।’ आजै पार्टी एकता हुने भन्दै उनले कार्यतालिका समेत सुनाए।

उनले कांग्रेसलाई पनि साथै लिएर अघि बढ्ने बताए। ‘कांग्रेस अब हाम्रो प्रतिस्पर्धी होइन। देशको विकासका लागि हामी कांग्रेसलाई पनि सँगै लिएर अघि बढ्छौँ’, उनले भने। उनले भने,’आज हामी एकता कै काममा लाग्छौँ। यहाँबाट गएपछि लगत्तै एकता संयोजन समितिको बैठक छ। त्यसपछि दुवै पार्टीको केन्द्रीय समितिको बैठक बस्छ।

अनि हामी निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जान्छौँ। त्यसपछि दुवै पार्टीको केन्द्रीय समिति बस्छ र पार्टी एकता हुन्छ।’ निर्वाचन आयोगमा पार्टी एकतासँगै देशको नयाँ भविष्यको संकेत पनि हुने बताए। – छलफलबाट

Leave Your Comment