हिन्दुत्व, क्रिश्चियानिटी र कम्युनिज्म

दार्शनिक बेर्टोल्ड रसेल भन्थे ‘मानिसका मस्तिष्कमा उत्पन्न हुने सबै रोचक जिज्ञासाहरुको उत्तर विज्ञानले दिन सक्दैन । त्यसको उत्तर धर्मग्रन्थहरुले दिन खोज्छन् । तर, त्यो ठीक छ भन्न सकिन्न । विज्ञान र धर्मग्रन्थहरुको बीचमा सायद एउटा दशजगा भूमि हुन्छ, त्यो नै दर्शनशास्त्र हो ।’

damber-khatiwadaधर्म, दर्शन र विज्ञानका बीचमा ‘दशजगा भूमि’ हुन्छ । यिनीहरु बीच कुनै सम्बन्ध नै नहुने चाहिँ हैन । धर्मशास्त्रले आस्था, विश्वासमा वर्ता जोड दिन्छ र अन्धतामा पुग्ने खतरा हुन्छ । विज्ञानले भौतिक प्रयोगलाई वर्ता महत्व दिन्छ र यो यान्त्रिकतामा पुग्ने खतरा हुन्छ ।

धर्मग्रन्थमा निहित अन्धता र विज्ञानमा निहित तकनिकीको सीमा नाघ्न सक्ने शास्त्रलाई नै दर्शनशास्त्र भनिन्छ । यसरी धर्म र विज्ञान दुबै दर्शनका विषय पनि हुन्छन् । हामी धर्मको बहस गरिरहँदा शुद्ध रुपमा धर्मको मात्र बहस गरिहेका हुन्नौं । धर्म सँगसँगै दर्शनको पनि बहस गरिरहेका हुन्छौं । दार्शनिक परम्पराको पनि बहस गरिरहेका हुन्छौं । तसर्थ धर्म रुढीवाद वा अन्धविश्वास मात्र हैन, दार्शनिक परम्पराको अध्ययन गर्ने स्रोत पनि हो ।

धर्मका प्रकार

समकालीन विश्वको धार्मिक संरचनालाई हेर्दा करिब ३३ प्रतिशत इसाइ, २३ प्रतिशत मुस्लिम, १६ प्रतिशत हिन्दू, ७ प्रतिशत बौद्ध र २ प्रतिशत यहुदीहरु छन् । त्यसबाहेकका मुख्य धर्म दर्शनहरु प्राचीन चिनियाँ मतहरु, कन्फुसियसवाद, ग्रिसेली प्लेटोनिज्म, नास्तिक र बहाई धर्मावलम्बी हुन् ।
उत्पत्तिका हिसाबले संसारका अहिलेका प्रमुख धर्महरु दुई प्रकारका मात्र छन् । पहिलो- दक्षिण एशियाली मौलिकता भएका धर्महरु, दोस्रो-मध्य एशियाली मौलिकता भएका धर्महरु, युरोप अमेरिकामा कुनै धर्मको जन्म भएको छैन । त्यहाँ त मध्यएशियाली मौलिकता भएका धर्महरुको विस्तार मात्र भएको छ ।

दक्षिण एशियाभन्दा मध्य एशिया युरोपको नजिक छ । त्यही भएर अरब, युरोप, अफि्रका र अमेरिकी महादेशमा यहुदी, इसाइ र इस्लामको प्रभाव बढी छ । हिन्दू, बौद्ध, जैन, सिख र किराँत दक्षिणएशियाली धर्म हुन् । त्यही भएर यिनीहरुको प्रभाव दक्षिण र पूर्वी एशिया मंगोल क्षेत्रमा बढी छ ।

नेपालमा पशुपति, लुम्बिनी र लारुम्बा नै हुन्छन् । ‘मक्कामदिना’, ‘जेरुसेलम’ र ‘भ्याक्टिकन सिटी’ बन्न सक्दैनन् । बने पनि ती कृत्रिम हुन्छन्

जुन ठाउँबाट जुन धर्मको जन्म हुन्छ, त्यसका तीर्थस्थलहरु त्यही ठाउँमा बढी हुनु स्वभाविक हुन्छ । त्यो देशको इतिहास, पुरातत्व, वास्तुकला र सँस्कृति तिनै धर्मसंग जोडिन्छन् । ज्ञानविज्ञान र दार्शनिक परम्परा पनि तिनैसँग जोडिन्छन् । हिन्दूत्वसँग ऋगवेद र मनुस्मृति मात्र हैन, आर्युर्वेद, योग र ध्यान पनि धर्मअंगजस्तै भएर जोडिएबाट त्यो पुष्टि हुन्छ ।

नेपालमा पशुपति, लुम्बिनी र लारुम्बा नै हुन्छन् । ‘मक्कामदिना’, ‘जेरुसेलम’ र ‘भ्याक्टिकन सिटी’ बन्न सक्दैनन् । बने पनि ती कृत्रिम हुन्छन् ।

धर्म र राजनीतिः
धर्म र राजनीति बिल्कुलै फरक-फरक कुरा हुन्, यिनले एकअर्कालाई प्रभावित गर्दैनन् भनेर कसैले बुझेको छ भने त्यो एकदमै गलत कुरा बुझेको छ । रामायण वा महाभारत राजनीतिक ग्रन्थ हुन् कि धर्मग्रन्थ भनेर बहस गर्न थाल्ने हो भने त्यसको अन्त्य सजिलो हुने छैन ।

जिसस क्राइष्टलाई तत्कालीन रोम साम्राज्यका गर्भनर प्लोटियस पिलाटले निर्ममतापूर्वक क्रसमा टाँगेर मारेका थिए । त्यो धर्म थियो कि राजनीति थियो भनेर बहस गर्ने हो भने निक्कै ठूलो असजिलो सिर्जना हुनेछ ।

मुस्लिम मतको स्थापनार्थ पैगम्बर मोहम्मदले निर्माण गरेका सेना र व्यूहरचना धर्म थियो कि राजनीति भन्ने प्रश्नको उत्तर दिन कसैलाई पनि सजिलो हुने छैन ।

हामी जे कुरालाई आज धर्म भन्दैछौं, त्यो त्यतिखेरको राजनीति नै हो । आज जेलाई राजनीति भन्दैछौं त्यो पनि कुनै दिन धर्म हुनेछ । हिजोको राजनीतिले आज पुग्दैन र हुँदैन भनेर हामीले नयाँ राजनीति गरेका हौं, तसर्थ पुरानो राजनीतिलाई धर्मको नाम दिएर आजको राजनीतिबाट फरक गर्न खोजेका मात्र हौं ।

धार्मिक समुदायको जन्म हुन त्यति गाह्रो छैन । कुनै विचार, मत वा जीवनशैलीलाई जब आस्थामा रुपमा ग्रहण गरिन्छ, त्यो धर्म भइहाल्छ । हामीले हेर्दाहेर्दै रजनीशको ‘नवसन्यास अभियान’ एउटा नयाँ धर्मको रुपमा विकास भइरहेको छ । चीनमा कन्फुसियसको चिन्तन र गि्रसेली समाजमा प्लेटोनिज्मलाई धर्म मान्ने सम्प्रदाय अहिले पनि छ ।

अहिले बढो ठूलो दार्शनिक मत मानिएको माक्र्सवादले कुनै त्यस्तै रुप लिन सक्छ ।

अमेरिकालाई जितेर चीन भरखरै विश्वको पहिलो आर्थिक शक्ति हुनु सायद त्यही इतिहासको चक्रको नियति हो । चीनपछि फेरि भारत वर्षको पालो आउनेछ

इतिहासको चक्र
विख्यात जर्मन दार्शनिक फ्रेडरिख विल्हेम हिगेलको प्रवचन श्रृंखलालाई संग्रह गरिएको एउटा पुस्तकको नाम हो ‘फिलोसोफी अफ हिस्ट्री’ अर्थात् ‘इतिहासको दर्शनशास्त्र’ । यस किताबमा उनले सूर्य, मान्छे र इतिहासको जीवन उस्तै हुन्छ भनेका छन् । सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ पहिलो मान्छे जन्मिन्छ, त्यहीँ इतिहासको शिशुकाल प्रारम्भ हुन्छ । हिगेलको विचारमा सूर्यको पहिलो झुल्को पर्ने ठाउँ मंगोलिया हो । स्वभाविक छ, सूर्य पूर्वबाट झुल्किन्छ । मंगोलिया क्षेत्र पृथ्वीको सर्वाधिक पूर्वी क्षेत्र हो । तसर्थ चिनियाँ सभ्यता नै इतिहासको शिशुकाल हो ।

मंगोलियाबाट हिँडेको सूर्य आइपुग्ने दोस्रो ठाउँ दक्षिण एशिया हो । तसर्थ भारत वर्षको सभ्यता र सँस्कृति इतिहासको वाल्यकाल हो । त्यसपछि मात्र सूर्य मध्यएशिया पुग्छल जहाँ पुगेर इतिहास किशोर हुन्छ र ग्रिसमा पुगेर इतिहास वयस्क हुन्छ । युरोपमा पुग्दा सूर्य र इतिहास दुबै अधबैंशे भइसकेका हुन्छन् । अमेरिका पुग्दा त्यो बुढो हुन्छ ।

अमेरिकालाई जितेर चीन भरखरै विश्वको पहिलो आर्थिक शक्ति हुनु सायद त्यही इतिहासको चक्रको नियति हो । चीनपछि फेरि भारत वर्षको पालो आउनेछ । अमेरिकामा बुढो भएर अस्ताएको घाम फेरि चीनमा झुल्किँदैछ । त्यो विस्तारै दक्षिण एशियातिर आउनैपर्छ ।

हिन्दूत्वका कुनै नराम्रा कुरा छैनन् भन्ने हैन । शक्तिपूजक संस्कृति र हिंसा/बली (शाक्त परम्परा), मनुवाद आश्रति वर्णाश्रम दक्षिण एशियाली धर्म संस्कृतिका सबैभन्दा खराब पक्ष हुन्

हिन्दुत्व

हामीले त्यति ध्यान नदिएको एउटा पक्ष छ, त्यो के भने हिन्दूधर्म वा हिन्दूत्व भनेको अब्राहमबाट यहुदी बनेजस्तो, जिसस क्राइष्टबाट इसाई धर्म चलेजस्तो, पैगम्बर महम्मदको सन्देशले इस्लाम जन्मिएजस्तो, गुरु नानकले सिख सम्प्रदाय चलाएजस्तो, राजकुमार सिद्धार्थको वैचारिक अभियानबाट बौद्धधर्म बनेजस्तो वा राजकुमार महावीरले जैन धर्मको पुनरुत्थान गरेजस्तो कुनै व्यक्तिबाट बनेको वैचारिक मत हैन ।

हिगेलको विश्लेषणमा विश्वास गर्ने हो भने चिनियाँ मतहरु धार्मिक मतमा विकास हुन सकेनन्, जो हिन्दूत्वभन्दा पुराना थिए । त्यसपछि हिन्दूत्व मानव सभ्यताको सबैभन्दा प्राचीन परम्पराहरुको निरन्तरता मात्र हो । कैलाश, गंगा र इन्दसको भूक्षेत्रमा बनेका सबै इतिहास, परम्परा, संस्कृति, ज्ञान, विज्ञान, दर्शन र सम्पदाहरु हिन्दूत्व हुन् । त्यही भएर हिन्दूहरुले कहिल्यै बौद्ध, जैन, सिख, किरातलाई आफूभन्दा बाहिरका धर्म ठान्दैनन् । ठानेनन् । त्यही भएर किरात धर्मका प्रथम पुरुष पारुहाङ हिन्दूहरुका आदि देवता शिव, किरातेश्वर वा पशुपतिनाथ हुन्छन् । बुद्धलाई हिन्दूहरुले विष्णुकै अवतारमध्ये एक मान्छन् ।

यसो भनेर हिन्दूत्वका कुनै नराम्रा कुरा छैनन् भन्ने हैन । शक्तिपूजक संस्कृति र हिंसा/बली (शाक्त परम्परा), मनुवाद आश्रति वर्णाश्रम दक्षिण एशियाली धर्म संस्कृतिका सबैभन्दा खराब पक्ष हुन् । रजनीशले भनेका थिए ‘म अहिंसावादी हुँ, मेरो कर्मबाट कमिला पनि नमरोस् भन्ने चाहन्छु, तर मनुलाई भेट्ने हो भने म हिंसावादी हुन्थे र उसलाई गोली हानीदिन्थे । किनकि मनुको चिन्तन खरबमध्येको पनि उत्कृष्ट खराब हो, त्यो हिंसा गर्न योग्य छ ।’ यी खराबी साना हैनन् ।

तर, हिदुत्वका आफै सवलताहरु पनि छन् । हिदुत्वमा लोकतन्त्रमा असाध्यै धेरै गुणहरु छन् । यहाँ रामलाई ‘पत्नीपीडक’ वा कृष्णलाई ‘रन्डो’ भने वापत कसैका विरुद्ध ‘फतवा’ जारी हुँदैन । यहाँ जे लेखे पनि, जस्तो लेखे पनि कसैले सलमान रुस्दी र तसलिमा नसरीन बन्नुपर्दैन । यहाँ कुनै ब्रुनोको जिब्रो पनि काटिँदैन ।

अझ आश्चर्य त के छ भने हिन्दुत्वमा देवता मान्छे भएर जन्मिन्छ र कर्मले देवता हुन्छ । राम अयोध्या राजकुमार हुन् जो मान्छे भएर जन्मिए र देवता भए । कृष्ण देवकी र बासुदेवका सन्तान हुन्, मान्छे भएर जन्मिएर देवता भए । सिद्धान्त गौतम मान्छे जन्मिएर बुद्धरुपमा देवता भए । भरखरै रजनीश मान्छे भएर जन्मिए र ओशोका रुपमा देवता भए ।

हिन्दुत्वमा हरेक मान्छेलाई देवता हुने स्वतन्त्रता छ । त्यही भएर हिन्दुहरुका देवता पनि धेरै हुन्छन् । अरु धर्ममा मान्छेलाई कर्मद्वारा संस्कारित भएर देवता बन्ने अधिकार छैन । त्यही भएर उनीहरुका देवता पनि थोरै हुन्छन् । हिन्दुत्वमा त्यो अधिकार छ र यो सर्वोत्तम लोकतान्त्रिक अधिकार हो ।

– See more at: http://www.onlinekhabar.com/2014/12/222414/#sthash.KkEsb9Dg.dpuf

Leave Your Comment