सत्ता परिवर्तनका लागि छलफल भइरहेको एमाले नेताद्वारा खुलासा

काठमाडौं, पुस १० – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माघ ८ गतेपछि सरकार परिवर्तन गर्ने वा के गर्ने भन्ने बारेमा सत्तासाझेदार दल नेपाली कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नका लागि दौड धुप गरिरहेको बेला ओली निकट रावलले सो कुरा बताएका हुन् । सबै दल एक ठाउँमा आउर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने कुरामा जोड दिँदै उपाध्यक्ष रावलले सबै दललाई संविधान आफूहरुले जारी गरेको जस लिनका लागि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताए । उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि प्रधानमन्त्री सुशील कोइराला पनि तयार रहेको पनि बताए ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यथास्थितिमा माघ ८ गतेभित्रै संविधान जारी हुन नसक्ने पनि बताए । उनले पूर्वनिर्धारित मिति माघ ८ गते नै संविधान जारी गर्न असम्भव भएको पनि धारणा राखे । उनले सहमति नभएको अवस्थामा प्रक्रियाबाट संविधान जारी गर्नु चुनौतिपूर्ण भएपनि त्यसको विकल्प नभएको भन्दै उनले चुनौतिलाई समाना गर्दै अघि बढेर भएपनि माघ ८ गतेभित्रै संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको पनि बताए ।
रावलले एमाओवादी र मधेसवादीहरु बार्ताबाट पछि हटे पनि मुलुकलाई पुनः २०६९ साल जेठ ४ गतेको अवस्थामा कुनै पनि हालतमा नपुर्याउने उल्लेख गर्दै भने–‘‘जनता आन्दोलनको धाक धम्कि हेर्न चाहदैनन, त्यसैले मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन ।’’
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले दलहरुबीच सबै कुरा मिलेको तर सत्तासमिकरणमा कुरा नमिलेको कारण यो विवादहरु देखिएको बताए । संविधान जारी गरेपछि कसको कुन हैसियत हुने, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री को बन्ने भन्ने अहिलेको मुख्य विवाद रहेको पनि बताए । उनले संविधानको अन्र्तवस्तुमा विवाद रहेको भनेर जनतालाई भ्रममा नराख्न पनि दलका नेताहरुलाई आग्रह गरे ।
एमाओवादीको मोर्चाले पनि सत्ताकै लागि आन्दोलनको घोषणा गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्ने कुरामा जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले सत्तासमिकरणको विषयले राजनीतिलाई प्रभावित पारेको भन्दै वर्तमान गतिरोध र अन्यौलता आउनुको दोषी प्रमुख दलका शीर्ष नेताहरु भएको आरोप लगाए ।

Leave Your Comment