मधेसी जनताका शतप्रतिशत माग पूरा गर्न एमाले तयार छ, नक्कली कुरा नगरौँः केपी ओली

४ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्तावलाई एमालेले स्वीकार गर्न नसक्ने बताउनु भएको छ । वीवीसी नेपाली सेवासँग कुराकानी गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

 

उहाँले संशोधन प्रस्ताव गलत नियतका साथ आएको भन्दै त्यसलाई खतरनाकको संज्ञा पनि दिनुभयो ।

‘यो खतरनाक छ, संविधानको धारा ६ मा संशोधन भनेको छ । त्यो वेठीक छ,’ उहाँले भन्नुभयो । उहाँले मधेसी जनताका स्वास्तविक मागलाई शतप्रतिशत पूरा गर्न एमाले तयार रहेको भन्दै कतै र कसैका लागि पूरा गरिदिनु पर्ने सम्झौता एमालेले पूरा गर्नु पर्ने कारण नभएको पनि दाबी गर्नुभयो । ‘उनीहरुले कहाँ के सम्झौता गरे । उनीहरुका लागि त्यो उचित होला,’ कांग्रेस, माओवादी र राजपाप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘त्यसलाई हामीले मान्नु पर्ने कुनै कारण छैन ।’

उहाँले संविधान संशोधनका लागि एमाले खुला छलफल गर्न तयार भएको पनि उहाँले खुलासा गर्नुभयो । ‘संविधान संशोधन प्रस्तावका बारेमा हामीसँग छलफल भएको छैन,’ हामीसँग छलफल गर्ने हो भने हामी संविधान संशोधनका विपक्षमा छैनौँ । पहिला निर्वाचन पूरा गरौँ । संशोधन चार महिनापछि गर्दा पनि हुन्छ ।’

Leave Your Comment