सीमामा सेना आमने-सामने: चीन-भारत भिडन्तमा कसको कति नोक्सानी?

भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको सामना गर्न भारतको तयारी कस्तो छ ? यसैबीच लोकसभामा मुलायमसिंहले भने कि चीनले भारतमाथि आक्रमणको तयारी गरेको छ । बिबिसी हिन्दीको समाचार टिप्पणी आजको नयाँ पत्रिकामा छ ।

यदि चीन र भारतबीच युद्ध भयो भने अमेरिका र जापानले कुन हदसम्म भारतलाई सहयोग गर्लान् ? यदि अमेरिकाले भारतको साथ दियो भने के दुवै देशबीच युद्धको सम्भावित परिणाम केही भिन्न होला ? यी सम्पूर्ण प्रश्नमाथि भारतले होइन, अपितु चिनियाँ मिडियामा पर्याप्त बहस चलिरहेको छ । साउथ चाइना मर्निङ पोस्टले लेखेको छ कि भारतले यथार्थ स्विकारोस् ।

चीनको चौतर्फी विस्तार भइरहेको छ । यस विस्तारलाई कैयौँ मोर्चामा चीनले सार्थक पनि साबित गरिसकेको छ । चीन आफ्नो विस्तार रोड, रेल, आर्थिक शक्ति तथा प्रविधि विकासको माध्यमबाट गरिरहेको छ । यसका साथै भारतीय उपमहाद्वीपमा चीन निकै ठूलो र शक्तिशाली नौसैनिक शक्तिका रूपमा अघि आएको छ ।

साउथ चाइना मर्निङ पोस्टले लेखेको छ— यसबाट युरेसियाको भूराजनीतिक अवस्थामा परिवर्तनको प्रस्ट महसुस गर्न सकिन्छ । ट्रम्पको आगमनपछि पनि अमेरिका एक चीन नीतिविरुद्ध जाने स्थितिमा छैन । उसले अगाडि लेखेको छ— २००८ पछि हिन्द महासागरमा चिनियाँ नौसैनिकको प्रभाव लगातार बढिरहेको छ । हिन्द महासागरमा पिपल्स लिबरेसन आर्मीको उपस्थिति बढेको छ । भूगोलको राजनीतिक महत्व जहिल्यै प्राविधिक शक्तिका आधारमा निर्धारित हुन्छ । रेल र राजमार्गको माध्यमबाट संसारको दूरी निकै कम भएको छ । सम्पर्कका यी साधनको माध्यमबाट पूर्वी एसिया र दक्षिण एसियाको दूरी कम गर्ने कोसिस भइरहेको छ । र, यो काम केवल चीनले गरिरहेको छ ।

रिपोर्टमा अगाडि भनिएको छ— एक समय यस्तो पनि थियो, जतिखेर शक्ति रोम, बर्लिन, मस्को तथा सिकागोमा मात्र केन्द्रित थियो । अब आजको मितिमा चीन रेल लाइन र प्रविधिको माध्यमबाट आफ्नो पाइला फैलाइरहेको छ । चीनको तीव्र गतिको रेल र राजमार्गलाई अ‍ेमेरिकी ट्रंक रुटको तुलनामा निकै विशाल मानिँदै छ । यस्तो आशा गरिँदै छ कि छिटै मानिस र सामानको आवतजावत म्यानमार हुँदै बंगालको खाडीसम्म र पाकिस्तानको कराँचीबाट ग्रिस तथा टर्कीको इस्तानबुलसम्म सुरु हुनेछ ।

एससिएमपीले लेखेको छ— तिब्बतमा पहिलोपटक सुरु भएको रेल सेवा चीनको उत्तर–पूर्वी सिनिङदेखि ल्हासाका लागि २००६ मा खुला गरिएको छ । छिटै यो रेल सेवालाई काठमाडौंसित जोड्ने योजना छ । यदि भारत तयार भयो भने यस लाइनलाई उत्तर भारतसम्म पनि ल्याइनेछ । बताइँदै छ कि बंगलादेशमा ढाका, इरानमा बन्दर अब्बास र पूर्वोत्तर भारत पनि छिटै यस आधुनिक रेल र रोड सेवामा सामेल हुनेछन् ।

चीनको म्यारिटाइम सिल्क रोड परियोजनाबाट सामुद्रिक व्यापारमा क्रान्तिकारी परिवर्तन आउनेवाला छ । यद्यपि यसको सुरुवात १९६० को दशकमा भएको थियो । अब यसमा चिनियाँ कम्पनी नयाँ बन्दरगाह निर्माण गरिरहेका छन् । सिल्क रोडमा नयाँ परियोजना र राजमार्ग सामेल छन् । व्यापार, लगानी, उद्योग र अन्य कैयौँ सेवा नयाँ रेल, रोड तथा बन्दरगाहसँगै आउनेछन् । यसबाट दक्षिण एसिया तथा हिन्द महासागरमा चीनको आर्थिक शक्ति प्रस्ट देखिनेछ ।

एससिएमपीले अगाडि लेखेको छ— चीन कैयाैँ नयाँ परियोजनाका माध्यमबाट आफ्नो विस्तार गरिरहेको छ । चाइना–हिन्द महासागर–आफ्रिका–भूमध्यसागर ब्लु इकोनोमिक करिडोर पनि पार गरिरहेको छ । यसबाट चाइना–इन्डोचाइना प्रायद्वीपलाई आर्थिक करिडोरसित जोड्न तयारी भइरहेको छ । यो पश्चिमदेखि दक्षिण चीन सागर हुँदै हिन्द महासागरतिर बढिरहेको छ । अगाडि गएर यसलाई चीन–पाकिस्तान करिडोर तथा बंगलादेश–चीन–भारत–मान्मार इकोनोमिक करिडोरसित जोड्ने योजना छ । अर्को शब्दमा भन्न सकिन्छ कि स्वेज तथा मलक्काबाट अरबको खाडी तथा इस्ट कोस्ट अफ अफ्रिका एक हुनेछन् ।

रिपोर्टका अनुसार चीनको नजर यहीँसम्म सीमित छैन । मलक्का, ग्वादर, क्याउकप्यु, कोलम्बो तथा श्रीलंकामा हमम्बान्तोतालाई पनि अंकित गरिएको छ । यसका अतिरिक्त इथियोपियाका साथै जिबुटी तथा मोम्बास्का हुँदै नैरोबीलाई जोड्ने तयारी छ । हिन्द महासागरमा वान बेल्ट वान रोडलाई लिएर चिनियाँ नौसैनिकको उपस्थिति बढिरहेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार हिन्द महासागरमा १९८५ मा पहिलोपटक चिनियाँ युद्धपोतहरूले यस क्षेत्रको ढोका ढकढकाएका थिए । यसपछि चिनियाँ नौसैनिकको गतिविधि बढ्दै गएको छ । रिपोर्टअनुसार चीनको चौतर्फी विस्तारबाट भारत आफू चारैतिरबाट घेरिँदै गएको महसुस गरिरहेको छ । भारतले यसलाई आफ्नो प्राचीन सभ्यताको प्रभावमाथि चीनको अतिक्रमणका रूपमा हेरिरहेको छ ।

सन् १९४७ मा स्वतन्त्रतापछि भारत रणनीतिक रूपले रुसको निकट रह्यो । यद्यपि २१औँ शताब्दीमा भारत अमेरिकाको निकट आयो । तर, चीनसँग भने उसको निकटता कहिल्यै रहेन । चीन र पाकिस्तानबीचको सामरिक सहयोग कसैबाट लुकेको छैन । चीन–पाकिस्तान आर्थिक करिडोरबाट पाकिस्तान आफ्नो अर्थ व्यवस्थालाई आमूल परिवर्तन गर्न चाहन्छ । प्रस्ट छ, सिपिइसी चीन तथा पाकिस्तानको महत्वाकांक्षी परियोजना हो । चीनले अरुणाचल प्रदेशलाई तिब्बतको हिस्सा बताउँदै आएको छ । यसका साथै, चीनले भुटानमा भारतको हस्तक्षेपको आरोप लगाउने गरेको छ । नेपाल र चीनबीच बढ्दो सम्बन्धका कारण पनि भारतको चिन्ता बढेको छ । एक रिपोर्टमा लेखिएको छ– चीनको बढ्दो प्रभावबीच भारतको जापान र अमेरिकासितको सम्बन्ध थप सुमधुर बनिरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टले लेखेको छ– भारत अहिले कमजोर स्थितिमा छ । जापानजस्तो भारत अमेरिकाबाट संरक्षित छैन । भारतले सामरिक स्वायत्ततामाथि जोड दिइरहेको छ । र, यो पनि साँचो हो कि ऊ अमेरिकाबाट संरक्षित हुन चाहँदैन । यो प्रस्ट छ कि यदि चीन र भारतबीच युद्ध भयो भने यसको अर्थ यो अमेरिकासितको युद्ध हुनेछैन । किनकि, भारत जापान होइन । यस रिपोर्टअनुसार भारतविरुद्ध चिनियाँ कारबाहीमा अमेरिका सायद आपत्ति जनाउन सक्छ । तर, मौलिक रूपमा यसको नतिजा बदल्नेछैन । भारतीय सेनाको आधुनिकीकरणको गति निकै सुस्त छ । सैन्य शक्तिको मामिलामा चीन भारतको तुलनामा निकै अघि छ । भारत आफ्नो सैनिकको आधुनिकीकरण अमेरिका तथा जापानको सहयोगबाट गरिरहेको छ । यस्तोमा चीन आफ्नो श्रेष्ठता कम हुनुभन्दा पहिल्यै भारतलाई पाठ सिकाउन चाहन्छ भन्ने पनि अनुमान गरिँदै छ ।

ग्लोबल टाइम्सले लेखेको छ– भारतले यसपटक चिनियाँ सम्प्रभुताको जोडदार उल्लंघन गरेको छ । चीनलाई यस मामिलामा पूर्णतः तयार रहनु आवश्यक छ । नयाँदिल्ली चीनको बढ्दो प्रगतिबाट चिन्तित छ । सिमानामा भारतको उक्साहटपूर्ण कदमबाटै प्रस्ट छ कि ऊ चीनको ध्यान विकासबाट कहीँ अन्यत्रै भड्काउन चाहन्छ ।
-बिबिसी हिन्दी डट कमबाट

Leave Your Comment