कतारविरुद्ध नाकाबन्दी लगाउने चार मुलुक आखिर के चाहन्छन् ?

काठमाडौं, ५ साउन — कतारका एक सरकारी अधिकारीले बुधवार नाकाबन्दी लगाउने चार अरबी मुलुकहरूले खतरनाक अनि अस्तव्यस्त तरिकाले काम गरेको बताएका छन् । ती देशले कतारसामु तेर्स्याएका माग परिवर्तन गरेपछि कतारको यो भनाइ आएको हो ।

 

साउदी अरब, संयुक्त अरब अमिरात, इजिप्ट र बहराइनले बिहीवार कतारले आतंकवादसँग लड्नका लागि ५ वटा सिद्धान्तमा प्रतिबद्धता जनाउनुपर्ने तथा तिनलाई कार्यान्वयन गर्न एक योजनामा सम्झौता गर्नुपर्ने बताएका थिए ।

यी चार देशले पहिला कतारसमक्ष १३ वटा माग तेर्स्याएका थिए जसमा अल–जजीरा टीभी बन्द गर्नुपर्ने माग पनि थियो । त्यसलाई कतारले आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण बताएको थियो ।

कतारी सरकारको सञ्चार कार्यालउका निर्देशक शेख सैफ बिन अहमद अल थानीले चार देशबाट ‘लगातार विरोधाभासी वक्तव्य आउने गरेको’ टिप्पणी गरे ।

उनले ती देशबाट कतारमा सिधै वा कुवेत वा अमेरिकामार्फत कुनै आधिकारिक सञ्चार नभएको बताएका छन् ।

६ सिद्धान्त यसप्रकारका छन् ः

१. सबै किसिमका अतिवाद र आतंकवादविरुद्ध लड्ने अनि तिनीहरूमाथि लगानी गर्ने वा तिनीहरूलाई सुरक्षित आवास दिने काम रोक्ने प्रतिबद्धता ।

२. घृणा वा हिंसा भड्काउने सबै किसिमका उत्तेजना तथा वक्तव्य बन्द गर्ने ।

३. सन् २०१३ को रियाद सम्झौता अनि यसको पूरक सम्झौताको पूर्ण पालना गर्ने र गल्फ कोअपरेसन काउन्सिलभित्रको संरचनामा रही यसको कार्यान्वयन संयन्त्रको पनि पालना गर्ने ।

४. रियादमा सन् २०१७ को मेमा भएको अरब इस्लामिक अमेरिकी सम्मेलनका सबै निष्कर्षप्रति दृढ रहने ।

५. राज्यका आन्तरिक मामिलाहरूमा हस्तक्षेप गर्ने तथा गैरकानूनी तत्त्वहरूलाई समर्थन गर्ने गतिविधिबाट बच्ने ।

६. अन्तर्राष्ट्रिय समुदायका सबै देशले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि खतराका रूपमा रहेका सबै किसिमका अतिवाद र आतंकवादको सामना गर्ने जिम्मेवारी बोकेका छन् ।

अल–जजीराबाट

Leave Your Comment