कांग्रेस नेता प्रदिप गिरीले गरे ‘नेपालमा भारतीय हस्तक्षेप बढाउन’ खुल्लमखुल्ला आग्रह, यसरी भयो भारतबाटै खुलासा

माओवादी नेता नारयणकाजीको गुनासो– राजपालाई पैसा दिएर उक्साइयो

५ साउन– नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएपछि त्यसको बिपक्षमा संसदको माथिल्लो सदन राज्यसभामा चर्को वहस भयो । वहस छेड्ने नेता थिए – भारतीय राष्ट्रिय कांग्रेसबाट राज्यसभा सदस्य मणिशंकर अय्यर । कुशल वक्ता उनले संविधान जस्तो नेपालको आन्तरिक मुद्दामा असहमति राख्दै नाकाबन्दी लगाउनुलाई अपराधको संज्ञा दिंदै भारतीय लोकतन्त्रका लागि लज्जा भएको बताएका थिए । 

उनै मणिशंकर अय्यरको नेपालमा प्रशंसा भयो । २१ औं शताब्दीमा कुनै देशप्रति उसको आन्तरिक मुद्दाप्रति असहमति राख्दै नाकाबन्दी जस्तो अमानवीय व्यवहार गर्दा त्यसको बिरोधमा नयाँदिल्लीमै खुलमखुला उत्रिएका थिए उनी । बिभिन्न मधेशी पार्टीहरु मिलेर बनेको मधेशी मोर्चाले सात बुँदे संशोधन राख्दै मधेशमा आन्दोलन गर्यो, जसलाई भारतीय सरकारले समर्थन गर्यो । जुन संशोधन मोर्चाले राखेको थियो, त्यही संशोधन संविधान जारी भएलगत्तै साउथब्लकले लैनचौरस्थित भारतीय दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालयमा राखेको थियो ।

आफ्ना ती सबै विगतलाई सम्झदै हालै उनले भारतीय टेलिभिजन अनलाईन एनडीटीभीमा ‘मोदीज् इन्टरफियरेन्स टर्निङ नेपाल टुवार्ड्स चाइना’ (मोदीको हस्तक्षेपले चीनतिर फर्कदै नेपाल’ शीर्षकमा एक लामो लेख लेखेका छन् । नेपालमा दोस्रो चरणको स्थानीय निकायको निर्वाचनताका आएका उनले राजपाका नेता अनील झादेखि कांगे्रस नेता बिमलेन्द्र निधि, नवीन्द्रराज जोशी, एमाले  महासचिव ईश्वर पोखेरल, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुसँग वार्ता गरे । खासमा उनको नेपाल भ्रमण व्यवस्थापन नै निधिले गरेका थिए । ती सबै भेटवार्तालाई समेट्दै उनले लेखेको लेखका केही अंश:

मलाई अनिल झाले तपाई प्रो–काठमाडौं हो र मधेशबिरोधी हो भन्नुभयो । मैले त्यसमा आपत्ती जनाउँदै भने– होइन, होइन, म प्रो–नेपाल हुँ ।

महन्थ ठाकुरलाई नेताओं के नेता (लिडर अफ लिडर्स) मानिन्छ किनकी उनले तराई नेताहरुको कंग्लोमरेसनको अध्यक्षता गरेका छन् । तराई मधेशका नागरिकलाई ‘भारतीय’ ठान्ने काठमाडौं प्रबृत्तिको उनी निन्दा गर्छन् । उनी भन्छन्, ‘नेपाल सरकारको स्वरुप र आकृति जस्तोसुकै होस्, रुलिङ एलिट उही रहन्छ । त्यसैले मधेशका नागरिक जहिले पनि बिभेदका बस्तु हुन्छन् । उनीहरुलाई कतै जाने बाटो छैन किनकि त्यही शासक एलिटले प्रशासन र न्यायपालिका समेत भरिन्छन् ।

प्रदीप गिरी नेपाली कांग्रेसका नेता हुन् तर गैरदलीय बौद्धिकका रुपमा उनी चिनिन्छन् । गिरिजीले मसँग भारतले नेपालको मुद्दाबाट पछि हट्नुपर्छ भनेर तपाईंले एउटा मौलिक गल्ती गर्दै हुनुहुन्छ भन्नुभयो । त्यो असम्भव छ । सत्य के हो भने भारत अस्तित्वमा छ, यसले हामीलाई प्रभाव पार्छ र त्यसैले तपाईं भारतबाट अलग रहन सक्नुहुन्न । त्यसपछि उहाँले सन १९४६ देखि ६० सम्मका भारतका भूमिका सबै उल्लेख गर्नुभयो र नेपालमा गणतन्त्र भारतकै कारण आएको बताउनुभयो ।

बिहारको निर्वाचन प्रभावित पार्ने उद्धेश्यले नेपालका हजारौं मधेशी महिलाहरुलाई जनकपुरमा साईकल बाँड्ने कार्य नेपाली जनताको बिरोधले रोकियो । साईकल पाउने मधेशी महिलाहरु मध्ये धेरैले बिहारी दुलाहासँग बिबाह गर्ने सम्भावना थियो । त्यो रोकिएपछि अपमानित भएको ठान्दै मोदीले त्यसका बदलामा नाकाबन्दी जस्तो अमानबीय कदम चाले ।

मोदीले बिदेश सचिव एस जयशंकरलाई ‘बिशेष दूत’का रुपमा काठमाडौं पठाएर संबैधानिक बहुमतका साथ पारित भएको संविधान जारी नगर्न दबाब दिए । जयशंकरको व्यवहार ‘लर्ड कुर्जन’को जस्तो भयो । यो तुलना किन उपयुक्त छ भने सन् १९५० जनवरी २६ मा हामीले संविधान गर्नु दुई दिनअघि जनवरी २४ मा लर्ड माउन्टबेटनले संविधान जारी नगर्न आदेश दिएका थिए ।

नयाँ शक्तिका नेता बाबुराम भट्टराईले बिगत सम्झनुभयो । उहाँले भन्नुभयो– मोदीजीको नेपाली नेताहरुसँग सम्बन्ध छैन । उहाँ असल उद्धेश्यका साथ काठमाडौं आउनुभयो, संसदमा उत्कृष्ट भाषण दिनुभयो तर नेपालको यथार्थ धरातलको ज्ञान नभएका कारण समयको धरापमा पर्नुभयो । उहाँ नेपालको सुक्ष्म व्यवस्थापनमा लाग्नुभयो र मधेशी समस्या समाधानको प्रयासमा एक बर्ष व्यर्थै खर्चिनुभयो । मधेशीले भारतबाट धोका पाएको रुपमा यो मुद्दा अव सकिएको छ ।

माओवादी केन्द्रका अन्तर्राष्ट्रिय बिभागका प्रमुख नारायणकाजी श्रेष्ठ नेपालमा नाकाबन्दी लगाउनु ठूलो गल्ती भएको भारतले महसुस गरेको विश्वास गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– भारतीय एजेन्सीहरुले राष्ट्रिय जनता पार्टीलाई पैसा र सल्लाह दिएर जारी स्थानीय तहको निर्वाचनम सहभागि नहुन उक्साएका छन् । र, राजपा पनि दिल्लीका सल्लाहलाई पछ्याईरहेको छ ।

अन्त्यमा, प्रदीप गिरीको भनाइलार्ई अस्वीकार गर्दै म विश्वास गर्छु कि भारतले नेपालको आन्तरिक मुद्दाबाट पछि हट्नुपर्छ । त्यस विपरित नेपालसँग परिपक्व सम्बन्ध बिकास गर्नुपर्छ जसले नेपाललाई ‘प्रोटेक्टोरेट’ वा चीनबिरुद्धको ‘बफर स्टेट’ होइन, नेपाल स्वतन्त्र, सार्बभौम राष्ट्र हो, उ आफ्नो चासो बुझ्न आफंै सक्षम छ । स्रोत: चक्रपथ.कम

Leave Your Comment