राष्ट्रिय सभागृहबाट अध्यक्ष केपी ओलीको गर्जन– ‘ज्ञानेन्द्र शाहज्यूको सम्वोधन याद छ ?’

साउन ५ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका लागि विकास, सम्वृद्धि र शान्ति चाइनिज भाषा नबुझ्ने नेपालीसँग चाइनाको नागरिकले चाइनिज भाषामै गरेको कुराकानी जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)को सातौँ राष्ट्रिय अधिवेशन प्रतिनिधि परिषद् भेलाको बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । ‘वर्तमान सरकारलाई विकास, सम्वृद्धि र शान्तिका कुरा चाइनिज भाषामा कुरा गरे जस्तै हो,’ उहाँले भन्नुभयो, ‘चाइनिज भाषा नबुझ्नेलाई चाइनिज भाषामा के बोल्यो–बोल्यो के पत्ता ?’

उहाँले अहिले परपिडक र झुटहरुले राजनीतिलाई पेशा–व्यवसाय जस्तो बनाएको पनि आरोप लगाउनुभयो । ‘म विकास, सम्वृद्धि र शान्तिका कुरा गर्छु,’ उहाँले भन्नुभयो, ‘भरे केही ‘पेड’ अनलाइनले केपी ओलीले उखान–तुक्का भनेर हँसायो भनेर समाचार बनाउँछन् । म दावाका साथ भन्छु । उनीहरुलाई उखाना–तुक्का भनेको के–हो भन्ने नै थाहा छैन ।’

उहाँले कांग्रेस–माओवादीप्रति संकेत गर्दै भन्नुभयो– ‘दिनभरी एमालेको विरोध गर्ने भनेर खोज्छन्, बेलुका केही भेट्दैनन् अनि निराश हुन्छन् । यस्ता स्याल हुइाया, परपिडक र झुटको खेती गर्नेहरुसँग डराउनु पर्ने कुनै कारण छैन ।’

हामीले ३ सय ७७ स्थानमा जितेका छौँ

ओलीले स्थानीय निर्वाचनमा ६ प्रदेशमा भएको निर्वाचन मध्ये ३ सय ७७ स्थानमा जितेको दाबी गर्नुभयो । ‘३ सय ६६ स्थानको त परिणाम नै घोषणा भयो,’ ओलीले भन्नुभयो, ‘चितवनमा पनि एमालेले नै जितेको छ । तर, त्यहाँ मतगणना भएको भएकै छ । त्यहाँ एमालेले जितेको छ । केही साथीहरुले एमालेले जित्यो भनेर भन्न सक्नुभएको छैन ।

एमालेले जित्यो भन्ने सुन्न बानी पर्नुहोस्

ओलीले स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी नै छक्क पर्ने गरी एमाले विजयी भएको भन्दै ती दललाई एमालेले जित्छ, जित्यो भन्ने बानी बसाल्न सुझाव दिनुभयो । ‘अब मन नलागे पनि एमाले पहिलो भयो, अरु दल काँध–काँध पनि आएनन्,’ ओलीले भन्नुभयो, ‘तपाईँहरुलाई सुन्न मन नलाग्ला तर एमालेले जित्यो, जित्छ भन्नु पर्ने बाध्यता छ । अब यही बानी बसाल्नुहोस् ।’

एमाले जिफन्टको कब्जामा

ओलीले एमाले जिफन्टको कब्जामा गएको बताउनुभयो । ‘स्थानीय निर्वाचनमा एमालेले ३ सय ६६ स्थानमा जित्दा जिफन्टबाट प्रतिनिधित्व गर्ने २ सय ५० जनाले विभिन्न पदमा जित हात पारेका छन्,’ ओलीले भन्नुभयो, ‘यो त एमालेलाई जिफन्टले कब्जा गरे जस्तो भैगो नि ! खैर केही छैन् । जिफन्ट शक्तिशाली छ भन्ने प्रमाण हो यो ।’

जनप्रतिनिधि एमालेका कार्यकर्ता नबन्नुहोस्

ओलीले निर्वाचनमा उम्मेदवार बनुन्जेल एमालेको तर्फका उम्मेदवार भएको भन्दै विजयी भएपछि सबै जनताको प्रतिनिधि हुनुपर्नेमा जोड दिनुभयो । ‘अब तपाईँहरुले जिफन्ट वा एमालेको कार्यकर्ता भएर काम नगर्नूहोस्,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि भएर काम गर्नूहोस् । एमालेका लागि होइन देश र जनताका लागि काम गर्नूहोस् ।’

उहाँले सबैको भोट पाएर जितेको अनुभूति गरेर काम गर्न पनि सुझाव दिनुभयो । ‘कांग्रेस–माओवादीबाट जनप्रतिनिधि भएकाहरुले पार्टीको कार्यकर्ता भएर काम गरे भने उनीहरुलाई छाडिदिनुहोस्,’ उहाँले भन्नुभयो, ‘बाकसमा अरुलाई आएका भोट सबै बदर भएका हुन् । सबैले भोट नदिएको भए मैले कसरी जित्थेँ भनेर काम गनूहोस् ।’

ज्ञानेन्द्र शाहज्यूको सम्वोधन याद छ ? 
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले समय र परिस्थितिलाई नबुझ्दा समाप्त भएको स्मरण पनि गराउनुभयो । ‘२००७ सालको जस्तो सम्झेर ज्ञानेन्द्र शाहज्युले माघ १९ को सम्वोधन गर्नुभयो । उहाँको हाउभाउ पनि २००७ सालकै जस्तो थियो,’ उहाँले भन्नुभयो, ‘देशमा गणतन्त्र आएको थाहा नपाउँदा ज्ञानेन्द्रका हालत के भयो, सबैलाई स्मरण नै होला ?’ उहाँले फेरि प्रतिगमन हुन्छ भनेर केही प्रेतहरुले हल्ला गरेको भन्दै त्यो सम्भव नहुने दाबी गर्नुभयो ।

Leave Your Comment