युवा संघमा चुनावी सरगर्मीः पन्त समूहले विज्ञप्ति निकाल्यो, पहारीले बैठक बोलाए

साउन ५ । २०७९ साल फागुनमा युवा संघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशन बुटवलमा सम्पन्न भयो । त्यही महाधिवेशनबाट महेश बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभयो ।

लहानमा सम्पन्न सातौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित बस्नेत बुटवलबाट पनि अध्यक्षका प्रत्यासी निरज आचार्यलाई पराजित गर्दै विजयी हुनुभयो ।

तीन वर्षका लागि अध्यक्ष निर्वाचित बस्नेत २०७१ साल भदौमा उद्योगमन्त्री बन्नुभयो । तत्कालीन कांग्रेस सभापति स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारमा उहाँ उद्योगमन्त्री चुनिएपछि युवा संघकी तत्कालीन उपाध्यक्ष निरुदेवी पाल कार्यबाहक अध्यक्ष बन्नुभयो ।

उहाँ अध्यक्ष चुनिए पनि उपाध्यक्ष दिलुकुमारी पन्त समूहले उहाँलाई अध्यक्ष स्वीकार गरेन् । उहाँलाई अध्यक्ष स्वीकार नगरेसँगै युवा संघमा निकै ठूलो भाँडभैलो सिर्जना भयो । शेरबहादुर तामाङ त्यतिबेला युवा संघ इञ्चार्ज हुनुहुन्थ्यो । त्यसपछि इञ्चार्जमा शेरशेरधन राई आउनुभयो । उहाँले युवा संघ भित्रको विवाद केही हदसम्म साम्य बनाउनुभयो । दुई धु्रर्वमा विभाजित युवा संघमा राईको प्रवेशसँगै केही मेलमिलाप देखियो । राईकै अग्रसरतामा महासचिव राजिव पहारी एक वर्षका लागि अध्यक्ष बन्नुभयो भने उपाध्यक्ष पन्त समूहले पनि पहारीलाई अध्यक्ष स्वीकार गर्यो ।

एक वर्ष भित्रमा निर्वाचन गर्ने शर्तसहित अध्यक्ष बन्नुभएका पहारीले केही महिना युवा संघ विवाद रहित बनाए पनि त्यो दीर्घकालिन भने बन्न सकेन् । युवा संघमा अहिले एकपछि अर्को छिद्र बन्न थालेपछि बढी नै समस्याहरु देखिन थालेका छन् ।

महाधिवेशनको माग गर्दै पन्त समूहको विज्ञप्ति

तीन वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि पाँच वर्ष वित्न लाग्दा समेत नेतृत्व निर्वाचनका लागि तयार नभएको भन्दै उपाध्यक्ष पन्त समूहले युवा फाँट प्रमुख र नेकपा (एमाले) मोर्चा फाँट प्रमुखलाई बोधार्थ दिदैँ विज्ञप्ति निकालेको छ । उपाध्यक्ष पन्त, राजु गुरुङ, सचिवहरु हस्त शाही, नरेश शाही, क्रान्ति बुर्लाकोटी र मञ्जु यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा जति सक्दो छिटो निर्वाचन गर्न माग गरिएको छ ।

विज्ञप्तिमा पाँच–पाँच वर्षसम्म महाधिवेशन नहुनु दूर्भाग्यपूर्ण कुरा भएको पनि उल्लेख छ । ‘युवा संघको महाधिवेशन तीन–तीन वर्षमा हुनु पर्ने हो,’ विज्ञप्तिमै भनिएको छ, ‘पाँच वर्षमा पनि नहुनु दुखःद् कुरा हो ।’ पन्त समूहले राज्यको पूनःर्सरसचना अनुसार संघको सांगठनिक संरचना गर्न र संघको विधान संशोधन गर्न पनि माग गरेको छ ।

‘युवा संघको महाधिवेशन सम्पन्न भएको पाँच वर्ष भयो,’ पन्त निकटका युवा संघका सचिव नरेश शाहीले भन्नुभयो, ‘महाधिवेशन आलटाल गरेर युवा आन्दोलनलाई नै लथालिङ्ग बनाउने हर्कत सुरु भएपछि हामी चुप लागेर बस्न नसकेपछि महाधिवेशनको माग गर्दै औपचारिक रुपमा विज्ञप्ति निकालेका हौँ ।’

उहाँले अहिले पनि महाधिवेशन नगर्ने र भेला बैठकबाट नयाँ नेतृत्व छान्ने प्रयास भैरहेको भन्दै आफूहरुले त्यसको विरोध गर्ने बताउनुभयो । ‘बैठक वा भेलाबाट होइन महाधिवेशनबाट नेतृत्व छनोट हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अब युवा संघ विधान सम्मेलनलगायतका सम्मेलन उन्मुख कार्यमा संलग्न हुनुपर्छ । विभिन्न बाहना बनाएर निर्वाचन टार्ने र युवा आन्दोलनलाई भाताभुङ्ग पार्ने कुरा हामीलाई स्वीकार्य हुँदैन ।’

यता पहारी समूहले पनि महाधिवेशन भदौ भित्र गर्ने गरी तयारी भएको जानकारी दिएको छ । ‘उहाँहरुले विज्ञप्ति नै निकालेर महाधिवशेन छिटो गर्न दवाव दिएको जानकारी आयो,’ पहारी निकट मानिने युवा संघका सचिव माधव बास्तोलाले भन्नुभयो, ‘यही ७ र ८ गते हामीले बैठक आयोजना गरेका छौँ । अध्यक्षज्यूले पनि भदौ भित्रै महाधिवेशन गर्ने भन्नुभएको छ । बैठकले सकारात्मक निर्णय गर्छ ।’

युवा संघका कार्यालय विभाग प्रमुख प्रभातविक्रम कटुवालले पनि भदौ भित्रै महाधिवेशन गर्नुको विकल्प नभएको जानकारी दिनुभयो । ‘सबैको माग भदौ भित्रै महाधिवेशन गर्ने छ,’ उहाँले भन्नुभयो, ‘युवा संघले भदौ भित्रै नयाँ नेतृत्व पाउने छ ।’

वैशाख २२ मा किन भएन महाधिवेशन ? 
युवा संघले गत वैशाख २२ मै आठौँ महाधिवेशन गर्ने भनेर मिति तोकेको थियो । वैशाख २२ मा हेटौँडामा महाधिवेशन गर्ने निर्णय बैठकले गरेको थियो । तर, पन्त समूहले छलफल नै नगरी मिति तय गरेको भन्दै त्यही मितिमा चितवनमा महाधिवेशन गर्ने भनेर मिति तय गरेका थिए । दुबै समूहले मिति घोषणा गरे पनि त्यो मितिमा महाधिवेशन भएन । युवा संघका सबै नेता–कार्यकर्ता त्यो समयमा प्रदेश नम्बर तीन, चार र छ मा भएको स्थानीय निर्वाचनमा चुनावी प्रचारका लागि जिल्ला–जिल्ला पुगेका थिए ।

Leave Your Comment