राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थाप्रति चिन्तित, शिघ्र स्वास्थ्यलाभको कामना!

५ साउन– राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

 

राष्ट्रपतिले ज्ञानेन्द्रका निजी सहयोगीमार्फत उनको स्वास्थ्य लाभको कामना गरेकी हुन् । अस्वस्थ भएर अस्पताल भर्ना भएको खबर पाउनेबित्तिकै राष्ट्रपतिले पूर्वराजाका सहयोगीलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेको नागार्जुन उच्च स्रोतले बतायो ।

पूर्वराजा शाहको मुटुको धमनीमा रक्तसञ्चार ब्लक भएपछि बुधबार नर्भिक अस्पतालमा एनजिओप्लास्टी गरिएको थियो । पूर्वराजा थप उपचारका लागि बैंकक जाने भएका छन् ।

‘राष्ट्रपतिज्यूले ‘महाराजधिराज’ को स्वास्थ्यबारे गम्भीर चासो राखेर टेलिफोन गर्नुभएको थियो’, नागार्जुन स्रोतका अनुसार  ‘उहाँले पूर्वराजाको स्वास्थ्यमा सुधारका लागि पशुपतिनाथसँग कामना गर्नुभएको बताउनुभयो ।’

उनका अनुसार पूर्वराजाले स्वास्थ्य लाभको कामना गरेकामा सहयोगीमार्फत नै राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । राष्ट्रपतिले आफ्नी कान्छी छोरी निशाकुसुमको केही महिनाअघि पूर्वराष्ट्रपति रामवरण यादवका नातिसँग भएको विवाहमा पूर्वराजालाई निम्ता दिएकी थिइन् । पूर्वराजा शाह राष्ट्रपतिको निम्ता स्वीकार गर्दै बरबधुलाई शुभकामना दिन शीतलनिवास पुगेका थिए ।

त्यसको केही समयपछि पूर्वराजाका नाति पारस पुत्रको ब्रतबन्धमा पूर्वराजाले राष्ट्रपतिलाई बोलाए । राष्ट्रपति भण्डारी पारस पुत्रको ब्रतबन्धमा सहभागी भइन् । पूर्वराष्ट्रप्रमुख र वर्तमान राष्ट्रप्रमुखबीच विकास भएको सौहार्दपूर्ण र सम्मानजनक सम्बन्धलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

Leave Your Comment