अकुत सम्पत्तिको मुद्दा नटुंगिदै एआईजीमा सिफारिस, अख्तियार आक्रोशित

काठमाडौं, ६ साउन । सरकारले नेपाल प्रहरीका ११ जना डिआईजीहरुलाई एआईजी बढुवामा सिफारिस गर्दा भ्रष्टाचारको मुद्दा खेपिरहेका पनि परेपछि प्रहरी हेडक्वार्टरमा तरंग फैलिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको भन्दै छानविन गरिरहेका डिआईजी विजयलाल कायस्थ भ्रष्टाचारको मुद्दा नटुंगिदै बढुवाको सूचीमा ७ नम्बरमा परेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अख्तियार स्रोतका अनुसार भ्रष्टाचारमा बद्नाम र मुद्दा विचाराधिन रहेका कायस्थलाई बढुवाको सिफारिस गरेपछि अख्तियारले चाँडै नै उनलाई कारबाही गर्ने तयारी थालेको छ । यस अघि पनि कायस्थ सुडान घोटला काण्डमा मुछिएका थिए ।

कायस्थको अकुत सम्पत्ति र सुन काण्डको फाइल अख्तियारमा विचाराधिन छ । कायस्थसँगै अकुत सम्पत्तिमा तानिएका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारले भने दिप बस्नेत प्रमुख आयुक्त बनेपछि सफाइ पाएका थिए ।

भण्डारीमाथि लोकमानले प्रतिशोध साँधेका थिए । तर, लोकमान अख्तियारमा रहँदा अकुत सम्पत्ति कमाउनेको सूचीमा परेका कायस्थको फाइल भने अहिले पुनः खोतलिएको छ ।

‘केहि दिन भित्रमै उनको भ्रष्टाचार मुद्दाबारे निर्णय हुँदै थियो । तर, सरकारले एआईजीमा सिफारिस गरेपनि उनले उन्मुक्ति पाउँदैनन् ।’ अख्तियार स्रोतले भन्यो ।

स्रोतका अनुसार अकुतमा कायस्थको नाम मुछिएपछि विवादास्पद व्यापारी दिपक मल्होत्रा, तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्याल र पूर्व एआईजी नबराज ढकालले लोकमानलाई कन्भिन्स गरी त्यतिखेर कायस्थलाई कारबाही गर्नबाट जोगाएका थिए ।

त्यतिखेर लोकमानले कतिपय व्यक्तिको नाम प्रतिसोध स्वरुप मुछेपनि कायस्थले भने भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको पुष्टि भएको थियो । अहिले कायस्थको २० किलो सुन काण्डले अख्तियारमा त्यतिकै चर्चा पाएको छ ।

कायस्थलाई जोगाउने पर्दा पछाडिका खेलाडी हुन् मल्होत्रा र ढकाल । उक्त काण्डलाई देखाएर तत्कालिन अख्तियार प्रमुख लोकमानले पूर्व आईजीपी अर्यालसँग पनि बार्गेनिङ गर्दै आइरहेका थिए ।

अकुत सम्पत्ति थुपारेको आरोपमा अख्तियारको छानबिनमा रहेका कायस्थको सम्बन्ध ठूला सुन तस्करहरुसँग रहेको अनुसन्धानबाट खुलेको अख्तियार स्रोतको भनाई छ ।

कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद गरेको झन्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएको अर्को उजुरी परेको थियो ।

नियमित चेकजाँचको क्रममा बरामद भएको उक्त सुनमा अस्मिताको नाम सुराकीमा खडा गरी कमिसन खाएको विषयमा अख्तियारले कायस्थमाथि छानबिन थालेको थियो ।

सुन बरामद भएसँगै ती महिलाको नाम बारम्बार सुराकीमा भेटिनु र कायस्थसँग रेष्टुरेन्टमा पनि देखिएका कारण उनी विवादमा मुछिएका थिए । प्रहरीभित्र नैतिकताको विषयमा कायस्थ बेलाबेलामा विवादमा पर्दै आएका छन् ।

सुराकी काण्डमा पनि उनले बदनामी कमाइसकेको हुँदा कारबाहीमा पर्ने प्रस्ट देखिएको अख्तियार स्रोतको दावी छ । अकुत सम्पत्ति कमाएको आशंकामा कायस्थलगायत २९ जनाको सम्पत्ति रोक्का गरी अख्तियारले छानबिन अघि बढाएकोमा उनी २५ नम्बरमा थिए ।

सबै बैंक खाताहरू रोक्का भई अनुसन्धानमा तानिएका कायस्थ चर्चित सुडान काण्डमा समेत फसेका थिए । पटक–पटक बयान दिन अख्तियार धाउँदै आएका कायस्थले अख्तियारमा भरेको सम्पत्ति विवरण चित्तबुझ्दो नदेखिएपछि र अस्वाभाविक भेटिएपछि कारबाहिको अन्तिम तयारी भएको छ ।

सुडान काण्डबाट रहस्यमय ढंगले उन्मुक्ति पाएका कायस्थले त्यसपछि काठमाडौंमा १० करोडको हाराहारीमा सम्पत्ति जोडेको उजुरी अख्तियारमा परेको थियो ।

त्रिभुवन विमानस्थलको सुरक्षा प्रमुख हुँदा कायस्थले सुन र डलर तस्करीमा चर्चित अनुहार दीपक मल्होत्रा र दया शर्माको गिरोहसँग मिलेर अवैध सम्पत्ति आर्जन गरेका थिए ।

कायस्थसँगै अख्तियार धाउनेहरूमा गोविन्द निरौला, मिङमार लामा, सुदीप आचार्यलगायत छन् । गोपाल भण्डारी निलम्बनमा परेर अवकाश नै पाइसकेका छन् भने एसएसपी रविराज श्रेष्ठको तस्करीका कारण जागिर नै गएको थियो

Leave Your Comment