दार्जिलिङ आन्दोलनमा चीन, नेपाली माओवादी र भारतकै उत्तरपूर्वी राज्यहरुको समर्थन रहेको ममता बेनार्जिको आरोप

गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले त्यस्ता गम्भीर आरोपको पुष्टि गर्न चुनौती

काठमाडौं, ६ साउन– भारतको पश्चिम बंगाल सरकारले नेपाली भाषी भारतीय गोर्खालीले बेग्लै गोर्खाल्याण्डको माग राखी गरेको शान्तिपूर्ण आन्दोलनमा चीन, नेपाली माओवादी र भारतकै उत्तरपूर्वी राज्यहरुको समर्थन रहेको आरोप लगाएको छ । 

उक्त आरोप सार्बजनिक भएलगत्तै आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले त्यस्ता गम्भीर आरोपको पुष्टि गर्न चुनौती दिएको छ । भारतीय गोर्खालीले एक सय बर्षदेखि उठाउँदै आएको न्यायोचित मागलाई ‘अर्राष्ट्रिय’ रंग दिई कमजोर बनाउने षड्यन्त्रमा ममता वनर्जीको सरकार लागेको भन्दै बिरोध गरेको हो । भारतीय अनलाइन वानइण्डिया डटकममा बिहिबार पोष्ट गरिएको रिपोर्टमा यसबारे बिस्तृत उल्लेख छ ।

मोर्चाले पश्चिम बंगाल सरकारलाई दार्जिलिङ आन्दोलनमा नेपाल र काश्मिरको संलग्नता पुष्टि गर्न चुनौती दिएको छ । यस्ता तथ्यहीन र आधारहीन आरोप नलगाउन चेतावनी पनि दिएको छ । भारतमा रहेका नेपालीभाषी गोर्खालीले बेग्लै गोर्खाल्याण्ड राज्यको माग गर्दै दार्जिलिङलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । पश्चिम बंगाल सरकारले नेपालीभाषी भूभागमा समेत बंगली भाषा अनिवार्य गरेपछि त्यसबिरुद्ध उठेको आन्दोलनमा भारतभरका नेपालीभाषी एक भएका छन् ।

भारतको एक राज्यका रुपमा गोर्खाल्याण्डलाई मान्यता दिनुपर्ने मागका पक्षमा जनलहर बढ्दै गएपछि त्यसलाई कमजोर पार्न पश्चिम बंगाल सरकारले दार्जिलिङको आन्दोलनमा नेपाल र काश्मिरको संलग्नता भएको रिपोर्ट तयार पार्यो । पश्चिम बंगाल सरकारको खुफिया एजेन्सीको रिर्पोटमा गोर्खा जनमुक्ति मोर्चाका नेताहरुको नेपाल र काश्मिरमा रहेका व्यक्तिहरुसँग टेलिफोन वार्ता भएको दाबी गरेको छ । रिपोर्टको दाबी छ–‘नेपालका माओवादीले  दार्जिलिङमा जारी आन्दोलनलाई  सहयोग गरिरहेका छन् । माओवादीसँग मिलेर गोजमुमोका नेताहरुले हतियार भित्र्याएका छन्  र दार्जिलिङ पहाडलाई ध्वस्त बनाइरहेका छन् ।’

मोर्चाका सहायक सचिव बिनय तामाङले यस्तो गम्भीर बिषयमा आरोप लगाउनु र त्यसलाई बढाइचढाई प्रस्तुत गर्नुले केही अर्थ नराख्ने भन्दै भौतिक प्रमाण देखाउन चुनौती दिनु भएको छ । ‘मैले जुन ७ मा नेपालमा रहेका एक व्यक्तिलाई फोन गरेको र मोर्चाका महासचिव रोशन गिरीले काश्मिरमा रहेका एक व्यक्तिलाई फोन गरेको दाबी उनीहरुको छ’ तामाङले भन्नुभयो, ‘यसले के पुष्टि गर्छ ? आरोपका लागि आरोपले केही गर्नेछैन । कुन नम्बरबाट हामीले फोन गरेका थियौं त्यो पनि सार्वजनिक गर्नुपर्छ । हामीले कसलाई फोन गर्यौं र के कुरा गर्यौं त्यो पनि बाहिर ल्याउनुपर्छ । यो हाम्रो चुनौती हो ।’

पश्चिम बंगालकी मुख्यमन्त्री ममता वनर्जीले दार्जिलिङ पहाडको आन्दोलनमा भारतकै उत्तरपूर्वका बिद्रोही समुह र नेपाली माओवादीको हात रहेको भन्दै केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र लेख्नु भएको छ । जसमा उहाँले सिलगुडी कोरिडरलाई अस्थिर बनाउने उद्धेश्यले चीनले समेत उक्त आन्दोलनमा सहयोग गरेको उल्लेख गर्नु भएको छ ।

मोर्चाका सहायक सचिव तामाङले  दार्जिलिङमा जारी आन्दोलनलाई अर्राष्ट्रिय आन्दोलन करार गरी कमजोर पार्न सकिन्छ कि भन्ने उदेश्यले सरकारले यो षड्यन्त्र गरेको बताउनु भयो । मोर्चाका नेताहरुका आफन्त नेपालमा भएको र आफन्तसँग टेलिफोन वार्ता हुने गरेको भन्दै त्यसलाई आन्दोलनमा समर्थन खोजिएको र नेपालबाट समर्थन गरेको भन्ने अर्थमा बुझ्न नमिल्ने उहाँको भनाई छ । ‘मुख्यमन्त्री वनर्जीले प्राय बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई फोन गर्नुहुन्छ’ तामाङको प्रश्न छ, ‘के त्यसको अर्थ मुख्यमन्त्रीको बंगलादेशी आतंकवादी समुहसँग सम्बन्ध छ भन्ने हुन्छ ?

Leave Your Comment